जनकपुरधाम, साउन ३ । धनुषाको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रहेको रमदैया स्थित एक मन्दिरमा चोरी गरेको आरोपमा एक पक्राउ परेका छन् ।
जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १ मा रहेको राजदेवी मन्दिरमा चोरी गरेको आरोपमा फरार रहेका सोही नगरपालिकाको वडा नम्बर ६ बस्ने २३ वर्षीय मोहम्मद नसिबलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
०६९ साल फागुन १४ गते मध्यरातमा मन्दिरमा एक समूहले चोरी गरेको थियो । यस विषयमा डाँका, हातहतियार, खरखजाना तथा संगठित अपराध मुद्दामा अदालतमा मुद्दा चलिरहेको धनुषाका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
धनुषा प्रहरीले यस मुद्दामा पुजारी धिरज यादवको जाहेरीको आधारमा मोहम्मद सरिफलाई पक्राउ गरिसकेको छ ।


