एजेन्सी, ३२ जेठ । भारतको कुशीनगरस्थित एक आवासीय भवनमा आगलागी हुँदा ५ बालबालिकासहित ६ जनाको मृत्यु भएको छ ।
कुशीनगरको रामकोली थाना क्षेत्रको उर्धा गाउँको एक आवासीय भवनमा बुधबार राति भीषण आगलागी हुँदा एक जना महिला र ५ बालबालिका सहित ६ जनाको मृत्यु भएको जिल्लाका मजिस्ट्रेट रमेश रञ्जनले जनाएका छन् ।
आगलागीको कारण भने अहिलेसम्म थाहा हुन सकेको छैन । सुतिरहेको अवस्थामा महिला र बालबालिकाको मृत्यु भएको हो ।
आगालागीको खबर प्राप्त हुनासाथ दमकलले घटनास्थलमा पुगेर आगो निभाएको थियो। जिल्ला अधिकारी र प्रहरी उपरीक्षकले पनि घटनास्थल पुगेर अग्निसमनमा समन्वय गरेका थिए ।
उनीहरुले शवलाई पोष्टमार्टमका लागि स्थानीय अस्पताल पठाएर घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् ।


