एजेन्सी, २० जेठ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले श्रीलङ्काको अर्थतन्त्रमा सुधारको सम्भावित सङ्केतहरु देखिन थालिएको जनाइएको छ ।
आईएमएफका उपप्रबन्ध निर्देशक केन्जी ओकामुराले श्रीलङ्काको भ्रमणपछि जारी गरेको वक्तव्यमा, ‘आर्थिक पुनरुत्थान चुनौतीपूर्ण रहेको छ र सरकार र श्रीलङ्काका जनता दुवैको बलियो स्वामित्वमा सुधारको गतिलाई निरन्तरता दिन आवश्यक छ,’ भनिएको छ ।
आईएमएफले समष्टिगत आर्थिक स्थायित्व हासिल गर्ने, ऋण स्थायित्व कायम गर्ने, वित्तीय स्थायित्वको रक्षा गर्ने, सुशासनलाई सुदृढ बनाउने र कमजोर वर्गको संरक्षण गर्ने महत्वकांक्षी आर्थिक कार्यक्रम कार्यान्वयन गर्ने श्रीलङ्काको दृढ प्रतिबद्धतालाई स्वागत गरेको ओकामुराले बताए ।
उनले वर्तमान आर्थिक सङ्कटको उत्पत्ति बाह्य झट्काका कारण बढेको नीतिगत गलत कदमबाट भएकोसमेत बताए ।
भ्रमणका क्रममा उनले समष्टिगत आर्थिक स्थायित्वका लागि वित्तीय उपायहरू, विशेष गरी राजस्व सङ्कलनका उपायहरूको महत्वबारे अधिकारीहरूसँग छलफल गरेका छन् ।
यही वर्षको मार्चमा आईएमएफले श्रीलङ्काको आर्थिक नीति र सुधारलाई सहयोग गर्न करिब तीन अर्ब अमेरिकी डलरको विस्तारित कोष सुविधा अन्तर्गत ४८ महिनाको विस्तारित ऋण व्यवस्थालाई अनुमोदन गरेको थियो ।


