जनकपुरधाम, १७ फागुन । मिथिलाको बहुचर्चित सांस्कृतिक उत्सव ‘मिथिला माध्यमिकी परिक्रमा’मा सहभागी श्रद्धालुहरू बुधबार धनुषाधाम पुगेका छन् ।
धनुषाको पर्वताबाट पदयात्रा गर्दै परिक्रमाबासीहरू बुधबार बिहान धनुषाधाम पुगेका हुन् ।
धनुषाको ठेरा कचुरीस्थित मिथिलाबिहारी मठबाट गत सोमबारदेखि सुरु भएको मिथिला माध्यमिकी परिक्रमा पहिलो दिन हनुमानगरमा विश्राम गर्दै मंगलबार बिहान कल्याणेश्वरको लागि प्रस्थान गरेको थियो । मंगलबार यात्रीहरूले कल्याणेश्वर स्थान (कलना), बुधबार गिरिजास्थान, बिहीबार मटिहानी, शुक्रबार जलेश्वर, शनिबार मडै, आइतबार ध्रुवकुण्ड, सोमबार कञ्चनवन र मंगलबार पर्वतामा विश्राम गरेका थिए ।
यसैबिच मिथिलाञ्चल क्षेत्रको पौराणिक तथा ऐतीहासिक एवम् परम्परागत रुपमा रहेको विगतदेखि बर्षेनि लाग्दै आएको १५ दिने मिथिला माध्यमिक धार्मिक परिक्रमा धनुषाधाम बजारक्षेत्रमा बास बसेकोले धनुषाधाम नगरपालिकाको कार्यालय लगायत नगरपालिका अन्तर्गतका सम्पुर्ण सार्वजनिक कार्यालयहरु (वडा कार्यालयहरु, सामुदायिक विद्यालयहरु र स्वास्थ्य संस्थाहरु) मा स्थानीय बिदा दिइएको छ । साथै पौराणिक, ऐतिहासिक एवम् धार्मिक आस्थाको धरोहरको रुपमा रहेको यस १५ दिने मिथिला माध्यमिक धार्मिक परिक्रमामा सहभागी श्रद्धालु भक्तजनहरुका लागि धनुषाधाम नगरपालिकाले नगर कार्यपालिकाको प्राङ्गण भित्र दहि चिउरा, चिनी, तरकारी लगायत खानेपानीको व्यवस्था समेत गरेको नगरप्रमुख वालेश्वर मण्डलले जानकारी दिए ।
परिक्रमामा सहभागीहरू बिहीबार औरही, शुक्रबार विशौल हुँदै शनिबार पुनः कल्याणेश्वर र त्यसपछि पूर्णिमाका दिन आइतबार जनकपुरधाम फर्कने छन् ।
हरेक वर्ष हुने परिक्रमामा भक्तजनले १५ दिनमा नेपालको १०५ र भारतको २८ गरि कूल १३३ किलोमिटरको दूरीमा पैदल यात्रा गर्छन् ।
पवित्र धार्मिक स्थलहरूको परिक्रमा गर्दा पाप नाश हुनुका साथै पुण्य मिल्ने जनविश्वास छ । परिक्रमा अवधिभर सहभागीहरूले झाँकी, भजनकीर्तन पनि गर्छन् । मिथिलाको महाकुम्भ भनेर चिनिने यस महामहोत्सवमा हजारौंको सहभागिता रहने गरेपनि यस धार्मिक यात्रालाई व्यावसायिक रूप दिन नसक्नु सरकारको कमजोरी रहेको जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले बताए ।
परिक्रमामा सहभागीहरूका लागि प्रत्येक वर्ष बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले १५ वटै विश्रामस्थलमा बिजुली, खानेपानीलगायतको व्यवस्था मिलाउने गरेको छ । परिक्रमा गर्नेहरू राति गाउँभन्दा टाढा खुला चौर, बगैंचा वा पोखरीको डिलमा विश्राम गर्छन् ।स्थानीयबासिन्दाहरूले पनि सहभागीका लागि अन्न, दाउराको प्रबन्ध मिलाउँछन् ।
नेपाल भारत दुवै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतीक बनेको यस परिक्रमा यात्रामा नेपालको १३ तथा भारतको २ गरी जम्मा १५ वटा विश्रामस्थलहरू छन् । मिथिला महात्म्यअनुसार १८औं शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाका रूपमा मनाइँदै आएको हो ।
प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारवटै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षिरेश्वर र सप्तेश्वरनाथलाई आधार मानेर परिक्रमा गर्ने परम्परा रहेको छ ।



