काठमाडौं, २६ माघ । विभिन्न चिरामा छिन्नभिन्न भएको विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनको तयारी पूरा भएको छ ।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बिहान १० बजे महाधिवेशन उद्घाटन गरिने महाधिवेशनको तयारी पूरा भएको सो पार्टीका नेता मिलन पाण्डेले जानकारी दिए ।
उनका अनुसार पार्टी केन्द्रीय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाएर महाधिवेशन तयारी गरिएको हो ।शनिबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।
महाधिवेशनको राजनीतिक दस्ताबेजका लागि केशव दाहाल तथा प्रस्तावित विधानका लागि रमेश पौडेलले प्रस्ताव पेस गर्ने पाण्डेले जानकारी दिए । उनका अनुसार महाधिवेशनपछि विवेकशील बहुपदीय प्रणालीमा जानेछ ।
शुक्रबारदेखि सुरु हुने महाधिवेशनमा देशभरबाट करिब एक हजारजना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् ।



