एजेन्सी
भारतले तेस्रो टी–२० म्याचमा न्युजिल्यान्डलाई १६८ रनले हराइदिएको छ । भारतको जितमा २३ वर्षीय ओपनर शुभमन गिल चम्किए ।
वानडेमा पछिल्ला चार भिडन्तका क्रममा तीन शतक हान्ने गिल पहिलो दुई टी–२० उल्लेख्य प्रदर्शन गर्नबाट चुकेका थिए । यसको क्षतिपूर्ति उनले अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा गरेका छन् । तेस्रो खेलमा उनले १२६ रन जोडेर शानदार पारी खेले ।
गिल यसका साथै टी–२० इन्टरनेशनलमा भारतको तर्फबाट एकै पारीमा सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यान बने । उनले विराट कोहली (१२२ रन) को कीर्तिमान पनि तोडेका छन् । त्यस्तै रोहित शर्माको ११८ रनको स्कोरलाई पनि गिलले उछिनेका छन् ।
गिल अब टी–२० फर्म्याटमा भारतका लागि सतक बनाउने सबैभन्दा युवा खेलाडी बनेका छन् । उनले सुरेश रैनाको रेकर्ड पनि तोडेका छन् । रैनाले यसअघि २३ वर्ष १५६ दिनको उमेर हुँदा टी–२० फर्म्याटमा १०१ रनसहित शतक बनाएका थिए । त्यस्तै केएल राहुलले २४ वर्ष १३१ दिनको हुँदा ११० रनसहित टी–२० मा शतक बनाएका थिए ।
गिलको शतक टी–२० इन्टरनेशनलमा भारतीय ब्याटसम्यानको जम्मा १३ औँ शतक हो । भारतीय खेलाडीतर्फ रोहित शर्मा चार शतकसहित सबैभन्दा अगाडि छन् ।
गिलले पछिल्लो ६ महिनामा तीनै फर्म्याट अर्थात टेस्ट, वानडे र टी–२० मा शतक हानेका छन् । गिल तीनै फर्म्याटमा शतक बनाउने भारतका अहिलेसम्मकै केबल पाँचौँ र विश्वका २१ औँ ब्याट्सम्यान हुन् ।
गिलभन्दा अघि सुरेश रैना, केएल राहुल, रोहित शर्मा र विराट कोहली यो रेकर्ड बनाउन सफल भएका छन् ।
गिल तीनै फर्म्याटमा शतक बनाउने विश्वका दोस्रो युवा ब्याटसम्यान पनि हुन् ।
पाकिस्तानका मोहम्मद शहजादले २२ वर्ष १२७ दिनको उमेरमा यो उपलब्धि हासिल गरेका थिए। गिलले यो उपलब्धि २३ वर्ष १४६ दिमा हासिल गरे ।
गिल चम्किरहँदा न्यूजिल्यान्डको टिम तेस्रो टी–२० मा केबल ६६ रनमा अलआउट भएको थियो ।



