काठमाडौं, १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयको जिम्मेवारी नदिने संकेत दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारबाट बाहिरिने तयारी गरेको छ ।
मंगलबार बिहान प्रधानमन्त्री प्रचण्ड र रास्वपाका सभापति रवि लामिछानेबीच गृह मन्त्रालयको विषयमा भएको कुराकानी सकारात्मक नभएपछि रास्वपाले सरकारबाट बाहिरिने तयारी गरेको हो ।
बालुवाटार स्रोतकाअनुसार प्रधानमन्त्रीसँगको भेटमा लामिछानेले आफ्नो भागमा परेको मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिएका थिए । नेपाली नागरिकता पुनः प्राप्ति गर्ने प्रक्रिया पूरा नगर्दा गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेको सांसदसहित उपप्रधान तथा गृहमन्त्री पद बदर गर्ने गर्ने फैसला सुनाएको थियो ।
सर्वोच्चको फैसलापछि भने उनले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नागरिकता लिएका छन् । नागरिकता प्राप्त गरेसँगै लामिछाने गृहमन्त्रीमा आफूलाई पुनः नियुक्त गर्न भन्दै पटकपटक प्रधानमन्त्रीसँग छलफल गरिरहेका छन् ।
यदि आफ्नो भागमा परेको गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने मूडमा पुगिसकेको रास्वपका नेताहरू बताउँछन् ।
प्रतिनिधिसभामा रास्वपाका १९ जना सांसद छन् ।


