१ अर्ब ३४ करोडभन्दा बढीको हुण्डी कारोबार आरोपमा धनुषाका युवक पक्राउ


जनकपुरधाम । अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा धनुषाबाट २४ वर्षीय युवक पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विभिन्न मुलुक, विशेषगरी मलेसियाबाट अवैध रूपमा हुण्डी कारोबार भइरहेको सूचनाका आधारमा गरेको अनुसन्धानका क्रममा १ अर्ब ३४ करोड ७८ लाख ३९ हजार १४४ रुपैयाँ बराबरको कारोबार भएको पुष्टि भएको जनाएको छ।

उक्त कारोबारमा संलग्न रहेको आरोपमा धनुषाको शहीदनगर नगरपालिका–४ का २४ वर्षीय अजयकुमार मुखियालाई पक्राउ गरिएको हो। धनुषा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर सीआईबी र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले मुखियालाई भदौ ३० गते साँझ शहीदनगर नगरपालिका–४ बाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा मुखियाले विभिन्न समयमा व्यक्तिगत तथा व्यावसायिक बैंक खाताको प्रयोग गरी उक्त रकम बराबरको अवैध हुण्डी कारोबार गरेको खुलेको छ।

पक्राउ परेका मुखियामाथि ‘हुण्डीसम्बन्धी कारोबार गर्न नहुने’ कसुरमा हिरासतमा राखेर थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ। कारोबारमा संलग्न अन्य व्यक्तिको पहिचान तथा खोजीका लागि समेत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

सीआईबीले अवैध तथा आपराधिक गतिविधिसम्बन्धी सूचना उपलब्ध गराउन सर्वसाधारणसँग आग्रह गरेको छ। सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने ब्यूरोले जनाएको छ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार