जनकपुरधाम । बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि ओमानलाई ८७ रनले हराउँदै नेपाल एसीसी प्रिमिअर कपको फाइनलमा प्रवेश गरेको छ।
मलेशियाको वायुमास क्रिकेट ओभल स्टेडियममा बिहीवार भएको सेमिफाइनल खेलमा पहिलो ब्याटिङ गरेको नेपाली टोलीले १४७ रनमा सीमित भएको थियो।
यद्यपि कप्तान सन्दीप लामिछाने, ललितनारायण राजवंशी र दीपेन्द्र सिंह ऐरीको धारिलो बलिङको सहयोगमा नेपाल विजयी भयो।
नेपालले ओमानलाई २८।१ ओभरमा अल(आउट गरायो। ओमानी खेलाडीहरूले केबल ६० रन बनाउन सके।
अब फाइनलमा नेपालको भेट अर्को सेमिफाइनल खेल जित्ने हङ्कङ वा यूएईसँग हुने छ। प्रतियोगिताको च्याम्पिअन बन्न सके नेपाल एशिया कपका लागि छनोट हुने छ।
टस जितेर पहिलो ब्याटिङ लिएको नेपालले ओमानलाई १४८ रनको सामान्य चुनौती दिएको थियो। त्यस क्रममा नेपाल ४५।४ ओभरमा अल(आउट हुन पुगेको थियो।
ओपनिङको जिम्मा पाएका देव खनाल र आशिफ शेखले पहिलो विकेटका लागि २३ रनको मात्र साझेदारी गर्न सके।
अर्जुन कुमालको स्थानमा बसिर अहमद टोलीमा आएपछि देव खनाललाई ओपन गर्न पठाइयो । तर खनाल र आशिफ शेख जम्न सकेनन्। नेपाली टोलीले २६ रन बनाउँदा दुवै जना आउट भइसकेका थिए। शेखले ११ रन र खनालले १३ रन मात्र बनाउन सके।
बायाँहाते ब्याटर ईशान पाण्डे एक रन बनाएर फर्किए भने पूर्वकप्तान रोहित पौडेल तीन रन बनाएपछि आउट हुन पुगे। ११।२ ओभरमा पौडेल आउट हुँदा नेपालले ३६ रन मात्र बनाउन सकेको थियो।
नेपाली ब्याटिङ उकास्ने काम भने दीपेन्द्र सिंह ऐरी र बसिर अहमदले गरे। यी दुईले पाँचौ विकेटका लागि ९३ रनको साझेदारी गरे।
अर्जुन कुमालको स्थानमा मौका पाएका बसिरले ४७ रन बनाए भने ऐरीले ५१ रन बनाए।
गुलशन झाले सात र करण केसीले पाँच रन बनाए भने सन्दीप लामिछानले रन जोडे।
ओमानी खेलाडीहरु नेपाली स्पिनरहरूको कसिकसाउ बलिङको धरापमा फसे।
स्पिनर ललितनारायण राजवंशिले ओपनर हसनन अल(वाहव र करण सोनाभालाई ३ ओभरभित्र आउट गर्दै ठूलो दबाव बनाए।
त्यसपछि हमाद मिर्जा र खेलमा जमिरहेका जितेन्दर सिंह दुवैलाई कप्तान सन्दीप लामिछानले बोल्ड गरेपछि खेलको सम्भावित नतिजा नेपालको पक्षतिर ढल्किन थालेको देखियो।
त्यसपछि चम्किएका ऐरीले तीन विकेट लिएर खेलमा नियन्त्रण जमाएका थिए। ऐरी र लामिछानेले ३र३ विकेट तथा रोहित पौडेल र राजवंशीले २र२ विकेट लिए।
पौडेलले जितेन रामानन्दीलाई आउट गरेपछि ओमानको इनिङ समाप्त हुन पुग्यो।


