महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–५ सहित चुरे क्षेत्रका विभिन्न बस्तीमा दुई सातादेखि भाइरल ज्वरोको प्रकोप फैलिएको छ। निरन्तरको वर्षा, बाढीपहिरो र भौगोलिक विकटताका कारण समयमै स्वास्थ्य सेवा तथा औषधि नपाउँदा चुरे क्षेत्रका सयौँ परिवार प्रभावित भएका छन्।
चुरे क्षेत्रका प्रभावित बस्तीबाट उपचारका लागि करिब ३० किलोमिटर टाढा बर्दिबास पुग्नुपर्ने बाध्यता छ। त्यसमध्ये करिब १० किलोमिटर दूरी खोलाको बाटो हुँदै पार गर्नुपर्ने भएकाले दैनिकजसो आउने बाढीले बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउन समस्या भइरहेको छ। स्वास्थ्यकर्मीको टोलीलाई समेत प्रभावित बस्तीमा पुग्न कठिन हुँदा बिरामीको सङ्ख्या बढ्दै गएको स्थानीयको भनाइ छ।
प्रभावितमा रुघाखोकी लाग्ने, टाउको तथा जीउ दुख्ने, खान मन नलाग्ने र एकदेखि तीन डिग्रीसम्म ज्वरो आउनेजस्ता लक्षण देखिएका छन्। बालबालिकादेखि वृद्धवृद्धासम्ममा यस्तो समस्या देखिएको छ। चुरे क्षेत्रका अधिकांश बस्ती प्रभावित भए पनि बर्दिबास–५, १० र ११ का बस्ती बढी प्रभावित रहेको सम्बन्धित वडाध्यक्षहरूले बताएका छन्।
बर्दिबास–५ का वडाध्यक्ष कहारमान स्याँवाका अनुसार बरडाँडा, ढुङ्ग्रे, गढन्ता, टुटेश्वर र चेरुलगायत बस्तीमा घरैपिच्छे बिरामी छन्। उनका अनुसार वडाका विभिन्न बस्तीमा करिब दुईदेखि तीन सय जना भाइरल ज्वरोबाट प्रभावित भएका छन्।
भाइरल ज्वरोका कारण विद्यालयको पठनपाठनसमेत प्रभावित भएको छ। बरडाँडास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक विल्टु यादवका अनुसार विद्यालयका करिब ७५ प्रतिशत विद्यार्थी ज्वरोबाट प्रभावित भएका छन्। दैनिक आउने बाढीका कारण बिरामीले समयमै उपचार पाउन नसक्दा विद्यार्थीको उपस्थितिसमेत घटेको उहाँले बताउनुभयो।
बर्दिबास नगर स्वास्थ्य अधिकृत सुरेश पासवानका अनुसार मौसममा केही सुधार भएपछि बुधबार ट्र्याक्टरमार्फत स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पुगेको थियो। टोलीले विकट क्षेत्र बरडाँडामा सञ्चालन गरेको स्वास्थ्य शिविरमा मात्रै २६ महिला र ३३ पुरुष गरी ५९ जना भाइरल ज्वरोबाट प्रभावित भएको पाइएको छ।
शिविरमा उपचारका लागि आएका बिरामीलाई स्वास्थ्य परामर्शसँगै निःशुल्क औषधि वितरण गरिएको स्वास्थ्य अधिकृत पासवानले बताउनुभयो। स्वास्थ्य सेवा र औषधिको पहुँच बढाएपछि प्रकोप नियन्त्रणमा आउने अपेक्षा गरिएको उहाँको भनाइ छ।
यसैगरी बर्दिबास–१० का वडाध्यक्ष प्रमोद मोक्तान पनि भाइरल ज्वरोका कारण एक सातादेखि थला परेको बताउनुभयो। “बल्ल तङ्ग्रिँदै छु, कमजोरी उत्तिकै छ,” उहाँले भन्नुभयो।
वडा नं. १० स्थित आधारभूत स्वास्थ्य इकाइका अहेव जीतबहादुर श्रेष्ठका अनुसार भदौ १ गतेदेखि १६ गतेसम्म उपचारका लागि आएका २०२ जनामध्ये करिब एक सय जनामा भाइरल ज्वरो देखिएको छ।
यस्तै बर्दिबास–११ को उत्तरी खयरमारादेखि छोड्केसम्मका बस्तीमा पनि भाइरल ज्वरोको समस्या देखिएको खयरमारा स्वास्थ्य चौकीका प्रमुख रामवली यादवले जानकारी दिनुभयो।
स्थानीयले वर्षायाममा चुरे क्षेत्रका बस्तीमा स्वास्थ्य सेवाको पहुँच थप कठिन बनेकाले प्रभावित क्षेत्रमा नियमित स्वास्थ्य शिविर सञ्चालन गर्न, पर्याप्त औषधिको व्यवस्था गर्न र स्वास्थ्यकर्मीको सहज पहुँच सुनिश्चित गर्न माग गरेका छन्।


