जनकपुरधाम । साइबर अपराध तथा सामाजिक सञ्जालको बढ्दो दुरुपयोगलाई न्यूनीकरण गर्ने उद्देश्यले जनकपुरधाममा सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाको सामुदायिक प्रहरी शाखा, आफन्त नेपाल र एम्नेस्टी इन्टरनेसनलको संयुक्त सहकार्यमा बुधबार जनकपुरधाम उपमहानगरपालिका–२४ बसहियास्थित गोगल प्रसाद नमुना माध्यमिक विद्यालयमा कार्यक्रम आयोजना गरिएको हो ।
प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आयोजित कार्यक्रममा साइबर अपराधका विभिन्न स्वरूप, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगी, व्यक्तिगत विवरणको सुरक्षा तथा सामाजिक सञ्जालको दुरुपयोगबाट उत्पन्न हुन सक्ने जोखिमका विषयमा जानकारी गराइएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक रेजिना श्रेष्ठसहित प्रहरी टोलीले सहभागीहरूलाई साइबर अपराधबाट बच्ने उपाय, अनलाइन गतिविधिमा अपनाउनुपर्ने सावधानी तथा कुनै पनि प्रकारको साइबर हिंसा वा दुव्र्यवहार भएमा प्रहरीमा उजुरी गर्ने प्रक्रियाबारे सहजीकरण गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले प्रविधिको विकाससँगै साइबर अपराधका घटना र सामाजिक सञ्जालको दुरुपयोगका चुनौती पनि बढ्दै गएको बताए ।
उनले सामाजिक सञ्जाल प्रयोग गर्दा व्यक्तिगत गोपनीयता कायम राख्न, अपरिचित व्यक्तिले पठाएका लिंक नखोल्न, आफ्नो पासवर्ड तथा ओटीपी अरूलाई उपलब्ध नगराउन र सामाजिक सञ्जालमा प्राप्त हुने भ्रामक सूचना तथा सामग्रीप्रति सचेत रहन आग्रह गरे ।
उनले साइबर अपराधबाट सुरक्षित रहन प्रहरीको प्रयाससँगै नागरिकको सचेतना र जिम्मेवार व्यवहार पनि उत्तिकै आवश्यक रहेको उल्लेख गर्दै यस्ता सचेतनामूलक कार्यक्रमलाई समुदाय तथा विद्यालयस्तरसम्म विस्तार गरिने बताए ।
वडा सदस्य अमजद हुसेनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी, विद्यालयका प्रधानाध्यापक, शिक्षक शिक्षिका तथा विद्यार्थी गरी करिब ११५ जनाको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।



