महोत्तरी । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि जलेश्वर कारागारका कैदीबन्दीहरूले सहयोग गरेका छन्।
कारागारमा रहेका ४ सय ५५ जना कैदीबन्दीले आफैं रकम सङ्कलन गरी १ लाख १ हजार १ सय ५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।
भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विभिन्न अभियोगमा कारागारमा रहेका पुरुष तथा महिला कैदीबन्दीले स्वेच्छाले रकम सङ्कलन गरेको कारागार प्रशासनले जनाएको छ।
कैदीबन्दीहरूले आपसमा रकम जुटाएर कारागार प्रशासनलाई उपलब्ध गराएपछि उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
विपद्को समयमा कारागारभित्र रहेका कैदीबन्दीहरूले समेत पीडितको राहत तथा उद्धारका लागि सहयोग जुटाएपछि उनीहरूको सामाजिक संवेदनशीलताको चर्चा भएको छ।


