सप्तरी । उच्च अदालत बार एसोसिएसन, राजविराजको २१औँ कार्यसमितिका लागि गणतान्त्रिक, लोकतान्त्रिक र प्रगतिशील समूहले संयुक्त उम्मेदवार घोषणा गरेका छन्।
आगामी भदौ २७ गते हुने निर्वाचनका लागि आइतबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै तीनवटै समूहले साझा उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गरेका हुन्।
बार एसोसिएसनले करिब ५० वर्षको यात्रा पूरा गर्न लागेको अवसरमा स्वर्ण वर्षलाई भव्य रूपमा सफल बनाउने तथा कानुन व्यवसायीको व्यावसायिक हित र एकताका लागि विगतमा छुट्टाछुट्टै प्रतिस्पर्धा गर्दै आएका समूहहरू यसपटक एकै ठाउँमा उभिएका हुन्।
संयुक्त प्यानलबाट अध्यक्षमा अधिवक्ता बलराम प्रसाद सिंह, उपाध्यक्षमा विनोद कुमार पाण्डे, सचिवमा पार्वती कुमारी जोशी थारु, सह–सचिवमा अस्मिता थापा र कोषाध्यक्षमा भोगी लाल यादव उम्मेदवार बनेका छन्।
त्यस्तै, सदस्य पदमा राम प्रसाद यादव, सतीश कुमार दत्त, भागवत यादव, बाल कृष्ण कार्की, रामनारायण चौधरी, सन्तोष कुमार चौधरी, राज कुमार साह र चन्द्र कान्त यादव उम्मेदवार छन्।
पार्षद पदमा रमेश बहादुर थापा, श्याम कुमार पोखरेल, श्याम कान्त चौधरी, मनोज देव, ललितेश्वर प्रसाद गुप्ता, बाल कृष्ण ढुङ्गाना, राम चन्द्र मण्डल, निलाम्बर लाल कर्ण र डा. हेम कुमार मिश्रलाई उम्मेदवार बनाइएको छ।
संयुक्त उम्मेदवारीसम्बन्धी विज्ञप्तिमा गणतान्त्रिक समूहका तर्फबाट अधिवक्ता पुण्य प्रसाद यादव, प्रगतिशील समूहका तर्फबाट अधिवक्ता सुजित कुमार पोखरेल र लोकतान्त्रिक समूहका तर्फबाट अधिवक्ता हेम नारायण चौधरीले हस्ताक्षर गरेका छन्।
तीन समूहबीचको यो सहकार्यले आसन्न निर्वाचनलाई थप प्रतिस्पर्धात्मक र रोचक बनाउने देखिएको छ।


