जनकपुरधाम । आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साह पुनः पक्राउ परेका छन् । मोतीबाबुलाई प्रहरीले जनकपुरधामको सीता चोकस्थित एक होटलबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगिएको छ । आरतीका पति मोतीबाबुलाई पुनः पक्राउ गरी थुनामा पठाउन गत मंसिर २० गते सर्वोच्च अदालतले आदेश दिएको थियो । सर्वोच्चको आदेश कार्यान्वयन गर्न आरतीको पतिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोकमा आरती मृत अवस्थामा फेला परेकी थिइन् । आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीको पति मोतीबाबु र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरेको थियो । जिल्ला अदालतले उनी दुबै जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर उच्च अदालत जनकपुरको आदेशमा उनीहरू साधारण तारिखमा रिहा भएका थिए ।


