कमलामा भूत मेला


जनकपुरधाम । कात्तिक पूर्णिमाको अवसरमा धनुषा–सिरहा जिल्ला जोड्ने कमला नदीमा अनौठो ‘भूत मेला’ लाग्ने गरेको छ । मेलाका लागि धामीझाँक्री, र सर्वसधारणहरु कमला नदीमा आज स्नान गर्ने गरेका छन् ।
धनुषा र सिरहाका गाउँ–गाउँबाट भगताहरु ‘घरको कुलदेवता’ खेल्दै कमला घाट पुगेकाहरु स्नान र पूजापाठ गरेर घर फर्किने गर्दछन् । कात्तिक पूर्णिमाको दिन स्नान, दान र ब्रत गर्नाले मुक्ति मिल्ने गरेको जनविश्वास रहेको छ । कमला नदीलाई गंगा सरह मानिएको छ । त्यसैले, यो नदीमा कात्तिक पूर्णिमा अर्थात् आज बिहान लाखौं मानिस स्नान गर्छन् ।
विशेषगरी ग्रामीण मधेशमा अझै पनि टुनामुनामा विश्वास गर्ने महिला पुरुषहरुको संख्या ठूलो रहेको छ । ‘कुलदेवता’ खेल्दा भूतजस्तो गर्ने गरेकाले पूर्णिमा मेलालाई ‘भूतमेला’ भन्ने गरिन्छ । नवभगताहरु भने सिद्धि प्राप्तिका लागि कात्तिक पूर्णिमाको दिन कमला स्नान गर्छन् । तन्त्र शास्त्रका अनुसार तन्त्र सिद्धिको लागि यस दिन पूर्णाहुती दिने चलन छ । तराई मधेशमा वर्षैंदेखि तन्त्र विधामा सर्वसाधारणको विश्वास रहँदै आएको छ ।
यता धनुषाको तीनवटा स्थानीय तहले कमला स्नान तथा भूतमेलाका लागि नगरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
कमला नगरपालिका र गणेशमान चारनाथ नगरपालिकाले कमला स्थान तथा भूत मेलाका लागि सोमबार र जनकनन्दिनी गाउँपालिकाले आइतबार र सोमबार गरी दुई दिन नगरमा सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार