जनकपुरधाम, १३ असोज । मैथिली कला साहित्यमा निकै ख्याति कमाएको धनुषाको युवा नाट्यकला परिषद् (युनाप) को अध्यक्षमा अनिल मिश्र चयन भएका छन ।
२०४१ सालमा स्थापना भएको युनापको ३९औं साधारणसभाले मिश्रलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
संस्थाको गरिमालाई अझ उचाइमा पुर्याउन सक्ने आशा र भरोसाका साथ नेतृत्वको जिम्मेवारी मिश्रलाई सुम्पेको विनोदानन्द मिश्रको भनाइ छ ।
विनोदानन्द युनापका संस्थापक र पुर्वअध्यक्ष समेत हुन । नेपाल पत्रकार महासंघ धनुषाका पुर्वअध्यक्ष र कान्तिपुर टेलिभिजनका मधेश प्रदेश प्रमुख समेत रहेका मिश्रको अध्यक्षतामा नवगठित कार्यसमितिको उपाध्यक्षमा सुजित मिश्र, सचिवमा नवलकिशोर मिश्र, सहसचिवमा बृषेश मिश्र र कोषाध्यक्षमा दिलिप साह मनोनीत भएका हुन ।
युनापको सात सदस्यीय सल्लाहकार समितिका साथै निर्देशकमा रामरेखा पण्डितलाई यथावत राखिएको छ ।
विरेन्द्र मिश्रको अध्यक्षतामा आयोजित ३९औं साधारणसभाको प्रमुख अतिथि अधिवक्ता विमलकुमार मिश्र र विशिष्ट अतिथि अनिल मिश्र रहेका थिए ।
मैथिली भाषा, साहित्य, नाट्यकलाप्रति युवा नाट्यकला परिषद् समर्पित अग्रणी संस्थाको रुपमा परिचित छ ।


