जनकपुरधाम, असोज २ । नेकपा एमालेले संविधानसभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङको स्मृतिमा आज विचार गोष्ठी आयोजना गर्दैछ ।
एमालेले सात वटै प्रदेशमा संविधान दिवसको पूर्वसन्ध्यामा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीको आयोजना गर्न लागेको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय तुलसीलाल स्मृति प्रतिष्ठानको गोष्ठीलाई सम्बोधन गर्ने जनाइएको छ । पार्टी कार्यालयमा हुने गोष्ठीमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वसभामुख ओनसरी घर्ती, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलगायतका वक्ताले सम्बोधन गर्नेछन् ।
त्यस्तै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे, संविधानविद् निलाम्वर आचार्यसमेत सहभागी हुनेछन् ।
कोशी प्रदेशको इलाममा रामबहादुर थापा ‘बादल’ प्रमुख वक्ता छन् भने मधेश प्रदेशमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल रहने छन् । त्यस्तै गण्डकी प्रदेशमा अष्टलक्ष्मी शाक्य, लुम्बिनी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, कर्णाली प्रदेशमा सुरेन्द्र पाण्डे र सुदूरपश्चिम प्रदेशमा विष्णुप्रसाद पौडेललाई प्रमुख वक्ता तोकिएको जनाइएको छ ।


