बाल सुधार गृहमा रातभर तनाव


वीरगञ्ज, भदौँ २७ । पर्साको वीरगञ्जस्थित बाल सुधार गृहमा रातभर तनावग्रस्त रह्यो । आज बिहान बाल सुधार गृहको अवस्था सामान्य भएपनि प्रहरीहरुको सुरक्षा सतर्कता भने कायम राखिएको छ ।

गएराति बाल सुधार गृहमा एकआपसमा भएको विवादका कारण तनाव भएको थियो । दुई समूहबीचको विवादले उग्ररुप लिएपछि झडप भएको थियो । सो क्रममा केही कैदीबन्दी घाइते पनि भएका छन् । उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

बाल सुधार गृहमा तनाव बढेको थाहा पाएपछि प्रहरी परिचालन गरी गरी अवस्थालाई नियन्त्रणमा लिने प्रयासमा लागेका थिए । यता आक्रोशमा रहेकाहरुले बाल सुधार गृहमा तोडफोड गर्नुका साथै प्रहरीमाथि पनि ढुंगामुढा प्रहार गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बिहानको अवस्था सामान्य रहेपनि बाल सुधार गृह बाहिर प्रहरी खटाइएको बताए ।

बाल सुधार गृहमा के कति कारणले विवाद उत्पन्न भई झडपको अवस्थासम्म सृजना भएको हो सो बारेमा अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

यसअघि केही साता अघि भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा पनि तनाव भएको थियो । जसमा एक जना कैदीबन्दीको मृत्यु भएपछि उत्पन्न तनावका बीच त्यहाँबाट केही कैदीबन्दीहरु भागेका थिए । भक्तपुरमा रहेका १८ जना कैदीबन्दीलाई वीरगञ्जको बिर्तास्थित बाल सुधार गृहमा पठाइएको थियो ।

त्यहाँ पहिल्यैदेखि रहेकाहरु कैदीबन्दी र भक्तपुरबाट पठाइएका कैदीबन्दी समूहबीचमा विवाद हुँदा झडप भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार