एजेन्सी, भदौँ २६ । वर्षाका कारण पटक—पटक रोकिएको एसिया कप क्रिकेटको ‘सुपर फोर’ चरणको खेलमा अन्ततः भारतले पाकिस्तानलाई दुई सय २८ रनले हराएको छ । वर्षाका कारण दुई दिनसम्म लम्बिएको उक्त खेलबाट दुई अंक बटुल्दै भारतले फाइनलमा पुग्ने देखिन्छ ।
आइतबार पाकिस्तानले टस जितेर पहिलो बलिङको निणर्य लिएको थियो । भारतले २४.१ ओभरमा दुई विकेट गुमाएर एक सय ४७ रन बनाएपछि वर्षा सुरु भएको थियो । लामो समय वर्षा नरोकिएपछि उक्त खेल सोमबारका लागि सारिएको थियो ।
एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले भारत र पाकिस्तानबीचको खेलका लागि ‘रिजर्भ डे’ को ब्यवस्था गरेको थियो । एसीसीले ‘रिजर्भ डे’ को सुविधा भारत र पाकिस्तानबीचको खेलका लागि मात्र उपलब्ध गराएपछि सहभागी अन्य टोलीले असन्तुष्टि पनि ब्यक्त गरेका थिए ।
आइतबार खेल स्थगित हुँदा भारतका लागि विराट कोहली अविजित आठ र केएल राहुल अविजित १७ रन बनाउँदै क्रिजमा थिए । त्यसअघि ओपनर ब्याट्सम्यान रोहित शर्मा र शुभमन गिलले भारतका लागि एक सय २१ रनको साझेदारी गरेका थिए । कप्तान रोहित शर्मा ५६ रन बनाउँदै पहिलो विकेटका रूपमा पेभेलियन फर्किएका थिए । उनले ४९ बलको सामना गरी चार छक्का र ६ चौका हिर्काएका थिए ।


