एमाले उपाध्यक्ष नेम्वाङको निधन


काठमाडौँ, भदौँ २६ । संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ ।

सामान्य रुघाखोकी लागेका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १ः ३० बजे काठमाडौँ स्थित त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा निधन भएको उनका स्वकीय सचिव कृष्णप्रसाद काफलेले जनाएका छन् ।

संविधानसभाका अध्यक्षसमेत रहेका एमालेका उपाध्यक्ष नेम्वाङ बारे जानकारी लिनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालगायतका नेता अस्पताल पुगेका थिए ।
नेम्वाङको पार्थिव शरीर ललितपुरको च्यासलस्थिल पार्टी कार्यालयमा राख्दैछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेम्वाङको अप्रत्यासित निधनले आफू अत्यन्तै मर्माहत र स्तब्ध भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत राष्ट्रपति पौडेलले दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उनको पार्टीप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको बताउँदै दिवंगत नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरे ।

विसं २००९ फागुन २८ गते जन्मेका नेम्वाङ नेपाली राजनीतिमा शालिन र सबैलाई मिलाएर जान सक्ने नेताको छवी बनाएका थिए ।

स्नातक अध्ययनका क्रममा विसं २०२८र २०२९ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रामा प्रवेश गरेका नेम्वाङ इलाम बहुमुखी क्याम्पसको स्ववियुसभापति समेत थिए ।

विसं २०३३ सालमा राजकाज मुद्दामा केन्द्रिय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोअर्डीनेसन केन्द्र मालेमा सङ्गठित उनी एमाले केन्द्रिय न्यायिक समिति सदस्य हुँदै एमालेको उपाध्यक्षसम्मको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

विसं २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङ पार्टी संसदीय दलको उपनेता तथा पार्टी उपाध्यक्षको जिम्मेवारीमा रहेका थिए ।

नेम्वाङ विसं २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाका सभामुख, विसं २०६४ व्यवस्थापिका संसद्को सभामुख, विसं २०६५ एवं २०७० सालमा संविधानसभाका अध्यक्ष थिए ।

विसं २०३२ देखि २०६३ सम्म मुलुकमा भएको राजनीतिक आन्दोलनमा पटकपटक गरी सात महिना थुनामा रहेका थिए । नेम्वाङ २०५१ सालमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सामान्य प्रशासनमन्त्री, सार्वजनिक लेखासमितिको सभापतिको जिम्मेवारी सम्हालेका थिए ।

त्यस्तै विसं २०३५ देखि २०४२ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापन गरेका स्वं नेम्वाङ वरिष्ठ अधिवक्तासमेत थिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार