एजेन्सी, भदौँ २५ । नोभाक जोकोभिचले वर्षको अन्तिम ग्राण्ड्सलाम टेनिस यूएस ओपनको उपाधि जितेको छ । यससँगै २४औं उपाधिको कीर्तिमान बराबरी गरेका छन् ।
३६ वर्षीय जोकोभिचले सोमबार बिहान सम्पन्न पुरुष एकल फाइनलमा रुसियन ड्यानिएल मेदभेदेवलाई ६–३, ७–६ (७–५), ६–३ ले पराजित गर्दै यूएस ओपनको उपाधि जितेका हुन् ।
यो उपाधि उनको करियरको २४औं ग्राण्ड्सलाम उपाधि हो भने यस उपाधिपछि जोकोभिचले मारगरेट कोर्टको नाममा रहेको २४ ग्राण्ड्सलाम उपाधि जित्ने कीर्तिमान बराबरी गरेका छन् ।
वर्षको सुरुमा अष्ट्रेलियन ओपन जित्दै राफेल नाडललको २२ ग्राण्ड्सलामको कीर्तिमान बराबरी गरेका जोकोभिचले फ्रेन्च ओपन जितेर नाडलको कीर्तिमान तोडेका थिए । विम्बलडन ओपनमा उनलाई मारगरेटको कीर्तिमान बराबरी गर्ने अवसर रहेपनि फाइनलमा पराजित भए । तर, यूएस ओपन जित्दै उनले मारगरेटको कीर्तिमान बराबरी गरेका छन् ।
यस वर्ष जोकोभिचले चारमध्ये तीन ग्राण्ड्सलाम उपाधि जितेका छन् ।
उनले १० पटक अष्ट्रेलियन ओपन, ७ पटक विम्बलडन ओपन, ४ पटक यूएस ओपन र तीन पटक फ्रेन्च ओपनको उपाधि हात पार्न सफल भएका छन् ।


