जनकपुरधाम, भदौँ २२ । ६० किलो सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाराका शिवकुमार सफर रहेको प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायतले जनाएका छन् ।
पक्राउ परेका सफर भने बारा जिल्ला सुनचाँदी व्यवसायी संघका अध्यक्ष हुन् ।
त्रिभुवन विमानस्थलबाट बरामद सुन तस्करीमा उनको पनि संलग्नता रहेको देखिएपछि बिहीबार बेलुका पक्राउ गरिएको डिआइजी कडायतले बताए ।
पक्राउ परेका सफरलाई सिआइबीको नियन्त्रणमा राखिएको र शुक्रबार म्याद थपका लागि अदालत उपस्थित गराइने भएको छ ।
यससँगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ ।
यसअघि पनि सुन प्रकरणमा राहुल महरालाई पक्राउ गरिएको थियो भने दिपेश पुनसँग पनि सोधपुछ गरिएको छ ।
गत साउन २ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरिएको थियो ।


