जनकपुरधाम, साउन ४ । आर्थिक वर्ष ०७९\०८० सम्पन्न भएपनि असार मसान्तमा भएका विकास निर्माणको कामको भुक्तानी नहुँदा अहिले उपभोक्ता समितिहरु दिनानुदिन चेकका लागि सम्बन्धित कार्यालय धाउँनु परेको छ ।
काम सम्पन्न भई सम्बन्धित कार्यालय अनुगमन गरी फर्छ्यौट गर्ने बेलामा पटक पटक कार्यालयले दौडाउने गरेको गुनासो उपभोक्ता समितिको रहँदै आएको छ ।
यही क्रममा आक्रोशित समुहले पर्यटन विकास कार्यालय मधेश प्रदेशका इञ्जिनियर मो. युनिस राईनमाथि कार्यालयमै दुव्र्यबहार गरेको छ । कमिसन नदिँदा सम्पन्न योजनाको भुक्तानी रोकेर एउटै कामका लागि पटक पटक दौडाउने गरेको र सम्पूर्ण फाइल दिँदासमेत बेवास्ता गरेकाले कार्यालयमै उपभोक्ता समितिका प्रतिनिधि तथा निर्माण व्यवसायीहरुले दुव्र्यबहार गरेको सेवाग्राही रामकेवल यादवले बताए ।
उनीमाथि दुव्र्यबहार भएको भिडियोसमेत सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको छ । एक सेवाग्राहीले उनको खल्तीमा हात हालेर जवर्जस्ती कागजात खोस्ने बेला इन्जिनियर चिच्याउँछन् ।
कागजात खोसेका सेवाग्राहीहरुले भन्छन् ‘हेर्नुस् कमिसन लिएको बैंकका भौचारहरु’ त्यसपछि फेरि इन्जिनियर राईनलाई पाखुरा समातेर भन्छन् ‘कमिसनको कारणले यिनले फाइल रोके । तिमी चेक ल्याउ नभए एसपी अफिस हिड् ।’
इन्जिनियर डराउँदै भन्छन् ‘यो अफिसको काम भएकाले यही अफिसमा छलफल गर्नुस् ।’
कार्यालयमै लेखाअधिकृत नविन झामाथि हातपातको प्रयाससमेत भएको छ । उनले पनि कमिसनको कारण भुक्तानी रोकेको भन्दै केही सेवाग्राहीले उनलाई पनि दुव्र्यवहार गरेको थियो ।
तर दुव्र्यवहारलगायतका त्यस्तो कुनैपनि घटना नभएको कार्यालयका प्रमुख मिन भट्टराईले जिकिर गरे । तर लेखाअधिकृत झामाथि कार्यालयमा सेवाग्राहीले हातपातको प्रयास गरेको भने स्वीकारे ।
यस आर्थिक वर्षमा पनि पर्यटन कार्यालयमा सम्पन्न ३४ योजनाको भुक्तानीको फाइल अझैसम्म पनि रोकिएको छ । कार्यालय प्रमुख भट्टराइले दिएको जानकारी अनुसार ३६१ मध्ये ३४ वटा भुक्तानीको फाइल रोकिएको बताए ।
समयमै फाइल नआउँदा ३४ योजनाको झण्डै ३ करोड रुपैयाँ भुक्तानी हुन नसकेको उनले बताए । भुक्तानीका लागि प्रक्रियासमेत थालिएको उनले स्पष्ट पारे ।


