दिपक मिश्र
जनकपुरधाम, साउन ३ । मधेस प्रदेशमा १ सय ३६ मध्ये ६१ स्थानीय तहले अझैसम्म पनि बजेट ल्याउन सकेका छैनन् । अहिलेसम्म ७५ स्थानीय तहले मात्रै बजेट ल्याउन सकेका छन् ।
असार १० गतेसम्ममा नगरसभा÷गाउँसभामा पेस गरिएको असार २५ गतेभित्रमा पारित गरिसक्नुपर्नेमा असारमसान्तसम्म पनि ५६ वटा स्थानीय तहले मात्रै बजेट पारित गर्न सकेका छन् । सप्तरीका १८ वटा स्थानीय तहमध्ये ७ वटा स्थानीय तहले बजेट पेस गरेका छन् ।
त्यस्तै सिरहामा १७ वटा स्थानीय तह रहेकोमा १० वटा स्थानीय तहले बजेट पारीत गरेका छन् । त्यस्तै जिल्लाका विष्णुपुर तथा भगवानपुर गाउँपालिकाले गाउँसभामा समयमै बजेट पेस गरेपनि पारित गराउन सकेको छैन ।
अबको एक दुई दिनभित्रै गाउँसभाबाट पारित हुनेमा विश्वस्त रहेको सिरहाको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवले बताए ।
उनले गाउँपालिकाका अध्यक्ष उग्र नारायण यादव काठमाडौँबाट फर्केएलगत्तै बजेट पारित हुने बताए ।
त्यस्तै धनुषामा नौ वटा स्थानीय तहले समयमै सभा गरेपनि हालसम्म तीन वटा स्थानीय तहले मात्रै बजेट पारित गरेका छन् । हतारमा बजेट स्वीकृत गर्न नसकेको बताउँदै बटेश्वर गाउँपालिकाका अध्यक्ष रामअशिष महतोले अब छिट्टै नै बजेट पारीत हुने दावी गरे ।
बटेश्वर गाउँपालिकाले पनि असार २५ गतेकै मितिमा सभा सदस्यहरुसँग हस्ताक्षर गराएर बजेट पारित गर्ने अध्यक्ष महतोले आफ्नो योजना सुनाए । यता महोत्तरीमा १५ वटा स्थानीय तह रहेकोमा १३ वटाले पेस गरेकोमा हालसम्म पारित भने ९ वटा पालिकाले मात्रै गर्न सकेका छन् ।
त्यस्तै सर्लाहीमा २० वटा स्थानीय तहमध्ये १३ वटा स्थानीय तहले पेस गरेपनि ११ वटाले मात्रै बजेट पारित गरेका छन् । भने रौतहटमा १८ वटा स्थानीय तह रहेकोमा ९ वटाले पेस गरेपनि हालसम्म ७ वटा स्थानीय तहले बजेट पारित गरेका छन् ।
त्यस्तै बारामा १६ वटा स्थानीय तहमध्ये ९ वटाले बजेट सभामा पेस गरेका छन् । भने पर्सामा १४ वटा स्थानीय तहमा ५ वटाले मात्र पेश गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेवसाईटमा प्रविष्ट गरिएको तथ्यांकमा रहेको देखाइएको छ ।
स्थानीय तहको जनप्रतिनिधिहरुसँग बुझ्दा सभामा कतिपय स्थानीय तहले बजेट पेस गरेपनि, कतिपय पालिकाको आन्तरिक विवाद र कतिको असार मसान्तमा योजना भुक्तानीमा व्यस्त रहेकाले गर्दा सभाबाट बजेट पारित भएको छैन ।


