एजेन्सी, असार १४ । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको एक घरमा बुधबार सशस्त्र समूहले आक्रमण गरेको छ । सो आक्रमणमा परी ९ जनाको मृत्यु हुनुका साथै अन्य दुईजना घाइते भएका छन् ।
मालाकन्द जिल्लाको बगरदरा क्षेत्रमा बिहानै केही व्यक्तिले एक घरमा पसेर अन्धाधुन्ध गोली चलाउँदा एकै परिवारका सबै व्यक्तिको मृत्यु भएको जनाइएको छ ।
पारिवारिक विवादका कारण आक्रमण भएको र तीन जनालाई पक्राउ गरिएको प्रहरी सुरक्षा अधिकारीले जनाएका छन् । घटनालगत्तै सुरक्षाअधिकारी र उद्धारकर्मीहरू घटनास्थलमा पुगेका थिए र पीडितहरूलाई स्थानीय अस्पतालमा लगिएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएको छ ।
मृत्यु हुनेमा चार महिला, तीन पुरुष र दुई बालबालिका रहेका छन् भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


