साउदी अरबमा गोली चल्दा एक नेपालीको मृत्यु


काठमाडौँ, असार १४ । साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु भएको जनाइएको छ ।

बुधबार भएको यस घटनाको अमेरिका र साउदी अरबका अधिकारीहरुले पुष्टि गरेको अलजजिराले जनाएको छ ।

समाचारमा जनाइएअनुसार कारमा सवार एक व्यक्ति जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर ओर्लिएका थिए । भने त्यसपछि सुरक्षाकर्मीहरुले उनलाई नियन्त्रणको प्रयास गर्दा गोली चलेको थियो । त्यहाँ गोलीबारीमा बन्दुकधारी र नेपाली सुरक्षा गार्ड गरी दुई जनाको मृत्यु भएको अलजजिरामा उल्लेख गरिएको छ ।

मृत्यु भएका नेपाली सुरक्षागार्डको नाम ठेगाना भने खुलेको छैन । साउदी प्रेस एजेन्सी (एसपीए)ले पनि घटनामा अमेरिकी वाणिज्य दूतावासको सुरक्षामा खटिएका नेपालीको मृत्यु भएको जनाइएको छ ।

यस घटनामा अमेरिकी नागरिकलाई केही पनि नभएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अमेरिकी अधिकारीहरु साउदी अरबका अधिकारीहरुसँग सम्पर्कमा रहेको र घटनाको अनुसन्धान गरिरहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावास सन् २०१६ मा पनि निशानामा परेको थियो । भने अमेरिकी दूतावास नजिकै एक जनाले आत्मघाती बम विस्फोट गराउँदा आत्मघाती आक्रमणकारीको मृत्यु हुनुका साथै दुई जनासमेत घाइते भएका थिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार