एजेन्सी, असार १० । भारतीय पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीबारे बनेको बलिउड फिल्म ‘इमर्जेन्सी’को टिजर सार्वजनिक भएको छ । फिल्ममा गान्धीको भूमिकामा अभिनेत्री कंगना रनावतले शीर्ष भूमिकामा छन् ।
कंगनाले निर्देशन गरेको फिल्मको प्रदर्शन मिति घोषणा भएको छ । जसअनुसार यस फिल्मको प्रदर्शन आगामी २४ नोभेम्बरमा विश्वब्यापी गर्ने तयारी छ ।
टिजरमा इन्दिरा गान्धीको चर्चित अभिव्यक्तिलाई पनि समावेश गरिएको छ । ‘इन्डिया इज इन्दिरा, इन्दिरा इज इन्डिया’ भन्ने वाक्यांशलाई बोल्डलीरुपमा प्रस्तुत गरिएको छ । कंगना गान्धीको भूमिकामा सशक्त देखिएकी छन् ।
यस फिल्ममा ‘इमर्जेन्सी’को टिजर अराजकताको अवस्था चित्रण गर्दै सुरु गरिएको छ । आन्दोलनकारीले सडकमा नाराबाजी गरिरहेका छन् । भने जताततै ढुंगा हानाहान भैरहेको छ । यस्तै समाचारले पुरै पत्रिका भरिएको छ ।
सार्वजनिक गरिएको यस टिजरमा अनुपम खेर भन्छन्, ‘भारतको इतिहासको सबैभन्दा कालो घडी आइपुगेको छ । सरकार राज होइन अहंकार राज हो । यो हाम्रो मृत्यु होइन, यो देशको मृत्यु हो । यो अधिनायकवाद रोक्नुपर्छ । यसपछि कंगनाको आवाज आउँछ, ‘मलाई यो देशको रक्षा गर्नबाट कसैले रोक्न सक्दैन, किनभने भारत इन्दिरा हो र इन्दिरा भारत हो ।’
अभिनेत्री कंगना भन्छिन्, ‘यो आपतकाल हाम्रो इतिहासको सबैभन्दा महत्वपूर्ण र कालो अध्याय हो, जुन भारतीय युवाले जान्नु आवश्यक छ । यो एउटा महत्वपूर्ण कथा हो र म प्रतिभाशाली कलाकार सतीश कौशिक, अनुपम खेर, श्रेयस, महिमा र मिलिन्दलाई यस रचनात्मक यात्रामा सँगै सुरु गरेकोमा धन्यवाद दिन्छु । भारतको इतिहासको यो उल्लेखनीय एपिसोडलाई ठूलो पर्दामा ल्याउन पाउँदा म उत्साहित छु ।’
कंगनाले सन् २०२१ मा ‘इमर्जेन्सी’ फिल्मको घोषणा गरेकी थिइन् । यसमा कंगना र अनुपम खेरसहित मिलिन्द सोमन, महिमा चौधरी, स्वर्गीय अभिनेता सतीश शाह र श्रेयस तलपदेले पनि महत्वपूर्ण भूमिकामा रहेका छन् ।


