जनकपुरधाम, असार १० । धनुषाको सबैला नगरपालिकाले अगामी आर्थिक वर्ष २०८०\०८१ का लागि अनुमानित ५९ करोड रुपैयाँको बजेट ल्याएको छ ।
९ औँ नगरसभामा नगरप्रमुख कारीराम यादवले अगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसहित अनुमानित ५८ करोड ८८ लाख ९५ हजारको बजेट प्रस्तुत गरेका हुन् ।
शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, स्वरोजगार लगायतलाई समेटेर नीति तथा कार्यक्रम मेयर यादवले प्रस्तुत गरेका छन् ।
नीति तथा कार्यक्रम अनुसार नगरसभामा छलफल गरी चालु तथा पुँजीगत गरी विनियोजन गरी पास बजेट गरिने मेयर यादवले बताए ।
बजेटको स्रोत संघीय सरकारको सशर्त अनुदान २३ करोड ३ लाख, राजश्व बाँडफाटअन्तर्गत ११ करोड ५५ लाख ८ हजार र समान्यीकरण अनुदान १३ करोड ७८ लाख गरी ४८ करोड ३६ लाख ८ हजार रहेको छ भने प्रदेश सरकारको एक करोड ५२ लाख र पालिकाको आन्तरिक स्रोतबाट ९ करोड रुपैयाँ रहेको प्रमुख प्रशासकीय अधिकृत कृष्णा पौडेलले जनाए ।
मेयर यादवको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता तथा पूर्वमन्त्री भरत साहको प्रमुख आतिथ्यमा नगरसभाको उद्घाटन सत्र सम्पन्न भएको थियो ।
यस कार्यक्रममा उपप्रमुख रहिमा खातुनसहित जनप्रतिनिधि, कर्मचारी, विभिन्न दलका प्रतिनिधि स्थानीय लगायतकाहरुको सहभागिता रहेको थियो ।


