जनकपुरधाम, ६ असार । आलु, प्याज लगायतका खाद्य वस्तुमा लगाइएको करको विरोध गर्दै जनकपुरधाम उद्योग वाणिज्य संघले सरकारको ध्यानाकर्षण गराएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बुधबार धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालमार्फत नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतलाई ध्यानाकर्षण पत्र पठाएका हुन् ।
ध्यानाकर्षण पत्र बुझाउँदै अध्यक्ष महासेठले यस विषयमा नेपाल सरकारसँग गम्भीर छलफल गर्न आवश्यकता देखिएको बताए ।
अध्यक्ष महासेठले सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि पेश गरेको वार्षिक बजेटमा कृषिजन्य वस्तुमा यसअघि कायम रहिआएका करका अतिरिक्त १३ प्रतिशत कर समेत थप गरी प्रस्तुत गरिएको वार्षिक बजेटप्रति जनकपुरधाम उद्योग वाणिज्य संघको गम्भीर ध्यानाकर्षण भएको बताए ।
प्रत्येक नेपाली नागरिकको भान्सामा दैनिक रूपमा उपभोग गरिने र खाद्य अधिकार सम्बन्धी मौलिक हक पोषण सम्बन्धी विषयसँग प्रत्यक्ष सम्बन्धित आलु, प्याज तथा फलफुल जस्ता सामान समेतको आयातमा यसअघि आयातकर्ताले कृषि सेवा शुल्क र अग्रिम आयकरका अतिरिक्त १३ प्रतिशत थप भ्याट समेत लगाउने गरी प्रस्तुत गरिएको वजेटबाट सर्वसाधारण नेपाली नागरिकहरूको खाद्य अधिकार प्रत्यक्ष प्रभावित भएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
नेपाली बजारमा खपत हुने आलु, प्याज तथा फलफुल जस्ता खाद्यसामग्री उपर लगाइरहेको १३ प्रतिशत अतिरिक्त करका कारण उक्त खाद्य सामग्रीको बढदो मुल्यका कारण भारतिय बोर्डरमा कायम मुल्य र नेपाली बजार मुल्य बिच असन्तुलित बजार भाउ कायम भई उपभोक्ता मारमा पर्ने निश्चित रहेको बताउँदै उक्त भ्याट रकम राजश्व वृद्धिको लागी निर्धारण गरिएता पनि नेपाल भारतको खुल्ला वोर्डरका कारण असमान रूपमा कायम हुने मुल्यले चोरी निकासीलाई बढावा दिने भएकोले यसअघि प्राप्त हुन राजश्व पनि डुब्ने खतरा रहेको ठहर गरिएको छ ।
नेपालमा उत्पादन हुने आलु, प्याजले उपभोक्ताको मागको १५ प्रतिशतसमेत धान्न नसक्ने अवस्थामा आयातमा निर्भर रहनु परेको र जनताको दैनिक भरण पोषणमा पर्ने आलु, प्याज तथा फलफुलमा कायम गरिएको भ्याटले सर्वसाधारण नागरिकले पनि यसको आलोचना र विरोध गरिरहेकोले नागरिकको खाद्य सुरक्षाको हक संरक्षणका लागि आलु, प्याज तथा फलफुलमा प्रस्ताव गरिएको भ्याट रकमका व्यवस्था हटाई बजेट पारित गरिने व्यवस्था गर्न माग गरिएको छ ।


