काठमाडौं महानगरकी शिक्षा सल्लाहकारले दिइन् राजीनामा


काठमाडौं, ६ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहका पछिल्ला गतिविधिबारे असन्तुष्टि जनाउँदै महानगरकी शिक्षा सल्लाहकार रेशु अर्याल ढुंगानाले राजीनामा दिएकी छन् । उनले बुधबार मेयर साहलाई राजीनामा बुझाएकी हुन् ।

अर्याल गत वर्षको भदौमा काठमाडौं महानगरको शिक्षा सल्लाहकारमा नियुक्त भएकी थिइन् । उनले सिंगापुरको नेशनल इन्स्टिच्युट अफ एडुकेसनबाट स्नातक र कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेजबाट शैक्षिक सुधारका लागि नेतृत्व विषयमा स्नातकोत्तर गरेकी छन् ।

पछिल्लो समय मेयर बालेनले चालेका कदमले चर्चा कमाइरहेका बेला उनकै शिक्षा सल्लाहकारले असन्तुष्टि जनाएर राजीनामा दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

सल्लाहकार रेशु अर्यालले हिसानको नेतृत्वमा भएको शैक्षिक मेला बन्द गराउनेलगायत गतिविधि लोकतान्त्रिक रूपमा नभई भीडको मनोविज्ञानको आधारमा भएको दाबी गरेकी छन् । व्यवसाय गर्ने व्यक्तिहरूलाई जबर्जस्ती नगर प्रहरी लगाएर धरपकड गरेको विषय उठाउँदा पनि सुनुवाइ नभएको उनले बताइन् ।

हरेक क्षेत्रका व्यवसायिक गतिविधि हुने र ती गतिविधि गैरकानुनी भए महानगरको सम्बन्धित विभागले सूचना पठाएर नियमन गर्नुपर्ने औँल्याउँदै उनले मेयर साह भीडको पछि लागेको आरोप लगाएकी छन् । आफूले राजीनामा दिनुका कारणबारे खुलाउँदै अर्यालले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेखेकी थिइन् । बालेनका समर्थकहरूको व्यापक आलोचनापछि भने उनले सो स्टाटस मेटाएकी छन् ।

‘आदिपुरुष’ चलचित्रलाई लिएर हिन्दी सिनेमामा प्रतिबन्ध लगाउने मेयर साहको निर्णयप्रति पनि उनको असहमति छ । सो चलचित्रको संवादको विषयलाई लिएर सिनेमामाथि लगाएको प्रतिबन्धले धेरै व्यवसायी त्रसित भएको उनको भनाइ छ ।

चलचित्र क्षेत्र आफ्नो पारिवारिक व्यवसाय भएकाले महानगरको सल्लाहकारमा बस्न नैतिक रूपमा पनि नमिलेका कारण आफूले राजीनामा गरेको उनले प्रष्ट्याइन् । उनका श्रीमान् भाष्कर ढुंगाना क्युएफएक्स सिनेमा हल सञ्चालन गर्ने टिम क्वेस्ट प्रालिका निर्देशक हुन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार