धनुषामा आइएमईभित्र चोरी गर्ने दुईजना पक्राउ


जनकपुरधाम, ६ असार । धनुषा प्रहरीले आइएमईभित्र चोरी गर्ने चोरीका सामानसहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा हंसपुर नगरपालिका वडा नम्बर–९ रुदौली बस्ने २० वर्षीय जिवन ठाकुर र वडा नम्बर–५ सुगानिकास बस्ने २१ वर्षीय अजय महरा रहेका छन् ।

उनीहरूले गत सोमबार राति १० बजे हंसपुर नगरपालिका वडा नम्बर–९ बालगंगा चौकमा सोही ठाउँ बस्ने ४३ वर्षीय राजेश्वर मण्डलले सञ्चालन गरेको आइएमई एक्सप्रेस रेमिटान्सको कोठाको भित्ता फोडेर पसलभित्र रहेको ल्याप्टप १ थान, किबोर्ड १ थान र सानो प्रिन्टर फोटो मेसिन १ थान चोरी गरेका थिए ।

ईलाका प्रहरी कार्यालय औरहीबाट खटेको प्रहरी टोलीले चोरीमा संलग्न व्यक्तिहरूको खोजतलाश गर्दै जाँदा मंगलबार बिहान १० बजेको समयमा दुबैजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

उनीहरूले सोही ठाउँस्थित पशु विकासको पुरानो भवनभित्र खाल्टो खनेर लुकाई छिपाई राखेको अवस्थामा ती सामानहरू बरामद गरिएको र उनीहरूको साथबाट चोरी कार्यमा प्रयोग गरिएका कटर, फलामको रड, हतौरा समेत बरामद भएको डीएसपी गौतमले जानकारी दिए ।

पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याई चोरी मुद्दा शिर्षकमा म्याद लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार