संकट मोचन माविमा उपद्रव मचाउनेहरूले माफी मागेपछि छाडियो


जनकपुरधाम, ६ असार । जनकपुरधामको संकट मोचन देवशरण रामरती उच्च माध्यमिक विद्यालयमा उपद्रव गर्ने व्यक्तिहरूले सार्वजनिक माफी मागेका छन् । बुधबार जिल्ला प्रहरी कार्यालय धनुषामा उनीहरूले सार्वजनिक माफी मागेका हुन् ।

गत जेठ १४ गते विद्यालयमा प्रवेश गरेर हिन्दु सम्राट सेनाको सदस्य हुँ भन्दै शिक्षकमाथि हातपात गरेकी लक्ष्मी साह, पूजा मण्डल र पंकज झालाई प्रहरीले पक्राउ गरेको थियो । केहिदिनपछि उनीहरूलाई तारेखमा रिहा गरिएको थियो । तारेखमा रिहा भएपनि मुद्दा चल्दै आएको थियो ।

उनीहरूले स्कूलभित्र प्रवेश गरेर अशान्ती मच्चाउँदा विद्यालयको सरकारी सम्पति समेत तोडफोड भएको थियो । विद्यालय प्रशासनले तोडफोडको जिम्मेवार तीनैजनालाई ठहराउँदै क्षतिपूर्ति उनीहरूबाटै तिराउने अडान लिँदै आएको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले सो घटनामा पक्राउ परेका तीनैजनाले सार्वजनिक माफी मागेको तथा क्षतिपूर्तिवापत दुईवटा कम्यूटरको सिपियू दिएपछि मुद्दा रफादफा गरिएको जानकारी दिए । उनीहरूलाई सशर्त छाडिए पनि यस्ता क्रियाकलापमा पुनः देखिए कडा कारवाही गरिने उनले बताए ।

जिल्ला प्रहरी कार्यालय धनुषामा विद्यालय प्रशासन र हिन्दु सम्राट सेना पक्षबीच सहमति भएको हो । हिन्दु सम्राट सेनाकी लक्ष्मी साह, पूजा मण्डल र पंकज झाले माफी मागेका हुन् ।

उनीहरूले विद्यालयका कम्यूटर शिक्षक अखिलेश झामाथि सुनुयोजित तरिकाले हातपात गरेका थिए । सो सन्दर्भमा विद्यालयमा प्रधानाध्यापक बलिराम साहले उनीहरू कतैबाट लेनदेन गरी गैर अभिभावक बनेर विद्यालयमा प्रवेश गरेर बितण्डा मचाएको आरोप लगाए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार