काठमाडौं, १ असार । नेकपा माओवादी केन्द्रका नेता एवम् संविधान सभा सदस्य रामकुमार शर्मा सत्याग्रहमा बसेका छन् ।
नागरिकताविहिन लाखौं नेपालीहरुको नागरिकता प्राप्तिका लागि उनले सत्याग्रहको शुरूवात गरेका हुन् ।
सर्वोच्च अदालतबाट नागरिकता विधेयक सम्बन्धि आदेश नआउँदा लाखौ नेपाली युवा बिचल्लीमा परेकाले अविलम्ब नागरिकता प्रदान गर्ने फैसला आउनुपर्ने माग गर्दै नेता शर्मा शुक्रबार दिउँसोदेखि काठमाडौंको माइतीघर मण्डलामा सत्याग्रहमा बसेका छन् ।
यसअघि बुधबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै नेता शर्माले नागरिकता प्रदान गर्ने आदेश अविलम्ब नआए असार १ गतेदेखि सत्याग्रहमा बस्न बाध्य हुने चेतावनी दिएका थिए ।
नेपालको संविधान २०७२ जारी भएको करिव ८ वर्ष भइसकेको र संविधान जारी भएको मितिले ३ वर्ष भित्र संघीय संसदबाट कानुन बनाएर पूर्णरूपमा कार्यान्वयन गरिने भनिएपनि राज्यद्वारा अनागरिक बनाउने प्रपञ्च सह्य नहुने उनले बताए ।
नागरिकता विधेयक संघिय संसदबाट पारित भएर राजपत्रमा प्रकाशित भइसक्दा समेत अनेक बहानामा कार्यान्वयन गर्न षड्यन्त्र हुँदै आइरहेको उनको आरोप छ ।
शर्माले भने, ‘संविधान बमोजिम नागरिकता पाउन योग्य १० लाख भन्दा बढी नेपाली यूवाको पीडालाई आत्मसात गर्दै जेठ १७ गते नागरिकता विधेयक प्रमाणीकरण भयो र गृह मन्त्रालयले तत्काल राजपत्रमा प्रकाशित गर्यो । तर, षड्यन्त्रपूर्वक नागरिकता विधेयक असफल बनाउनकैलागि सर्वोच्च अदालतमार्फत षड्यन्त्र सुरु भएको छ ।’
शर्माले राष्ट्रिय एकता कायम राख्नका लागि पनि नागरिकता प्रदान गर्ने आदेश चाँडै आउनु आवश्यक रहेको बताए ।
सत्याग्रह शुरूवात गर्ने क्रममा नेपाली काग्रेसका सहमहामन्त्री महेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, नेता अब्दुल खान, जसपा नेता योगेन्द्र यादव, महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादव, लोसपाका सांसद राम प्रकाश चौधरी, लोसपा विद्यार्थी संघका केन्द्रीय अध्यक्ष मनिष मिश्रा, प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंह, अखिल क्रान्तिकारीका उपाध्याक्ष क्षितिज सापकोटा, अखिल क्रान्तिकारीका उपाध्याक्ष सुर्यनारायण साह, अधिवक्ता दिपेन्द्र झा, नेकपा माओवादी केन्द्र प्रदेश समितिका सदस्य लालबाबु साह, नेकपा माओवादी केन्द्रका नेतृ इन्दु शर्मा, रा.लो.प्राध्यापक संघका उपाध्याक्ष अखिलेश सिंहलगायतकाहरू माइतीघर मण्डलामा उपस्थित भएका थिए ।


