काठमाडौं, ३१ जेठ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को अध्यक्षमा गणेश कार्की र वरिष्ठ उपाध्यक्षमा मोहन डाँगीसहित सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।
जेठ ३२ गते मतदान गर्ने कार्यतालिका रहेपनि अध्यक्षका अर्का प्रत्यासी किरण मल्लको उम्मेदवारी खारेज भएपछि कार्की अध्यक्ष चुनिएका हुन् ।
वरिष्ठ उपाध्यक्षमा सूर्यप्रसाद अधिकारीको पनि उम्मेदवारी परेको थियो । उनको योग्यता नपुगेको भन्दै निर्वाचन समितिले उम्मेदवारी खारेज गरेपछि डाँगी वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् । इप्पान संशोधित विधानअनुसार उनी अर्को कार्यकालको स्वतः अध्यक्ष बन्ने भएका छन् ।
त्यस्तै ५ जना उपाध्यक्ष पनि निर्विरोध निर्वाचित भएका छन् । ५ जना उपाध्यक्षका लागि ७ जनाको उम्मेदवारी परे पनि दुईजनाको योग्यता नपुगेको भन्दै निर्वाचन समितिले उम्मेदवारी खारेज गरेपछि उपाध्यक्ष पनि निर्विरोध निर्वाचित भएका छन् ।
५ जना उपाध्यक्षमा आशिष गर्ग, भरतकुमार खत्री, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, र आनन्द चौधरी निर्वाचित भएका छन् । उपाध्यक्षका उम्मेदवार वीरेन्द्र मल्ल र दिपेन्द्र बमको भने योग्यता नपुगेको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै, १ महासचिवका लागि दुई जनाको उम्मेदवारी परेकोमा एक जनाको योग्यता नपुगेपछि बलराम खतिवडा निर्विरोध निर्वाचित भएका छन् । महासचिवमा विनोद देवकोटाको पनि उम्मेदवारी परेको थियो । उपमहासचिवमा भने प्रकाशचन्द्र दुलालको एकल उम्मेदवारी परेपछि यस अघि नै निर्वाचित भइसकेका छन् ।
त्यस्तै ५ जना सचिवको लागि ६ जनाको उम्मेदवारी परेकोमा १ जनाको योग्यता नपुगेपछि यसमा पनि निर्विरोध निर्वाचित भएका छन् । सचिवमा भरतप्रसाद नेपाल, भरतकुमार खड्का, कविता पोखरेल, विक्रम विष्ट र हिमप्रसाद पाठक निर्वाचित भएका छन् ।
सचिवमा उम्मेदवारी दिएका नारायण कँडेलको भने योग्यता नपुगेको निर्वाचन समितिले जनाएको छ । कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तको एकल उम्मेदवारी परेपछि उनी पनि यस अघि नै निर्वाचित भइसकेका छन् ।
तीनजना महिला सदस्यमा ईशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमन जोशी निर्विरोध निर्वाचित भइसकेका छन् । सातजना खुल्ला सदस्यका लागि भने १४ जना चुनावी प्रतिस्पर्धामा छन् ।
इप्पान आसन्न निर्वाचनमा उम्मेदवारी दर्ता गर्न नदिएको भन्दै किरण मल्लले उच्च अदालत पाटनमा दायर गरेको रिट निवेदन खारेज भएको छ ।


