गर्मीका कारण जनकपुरधामसहित तराइको जनजीवन कष्टकर


जनकपुरधाम, १८ जेठ । विगत केहि दिनदेखि बढिरहेको गर्मीका कारण जनकपुरधामसहित तराइको जनजीवन अत्यन्तै कष्टकर बनेको छ । लामो खडेरीका कारण पानी पर्न नसक्दा गर्मी बढ्नुका साथै जमिन तातेको छ ।

पानीको मुहानहरु सुक्दा र जमिन तातो हुँदा दिउँसोको घाममा मानिसहरुलाई घरबाहिर निस्कन समस्या हुन थालेको छ । तापक्रम बढ्नुको साथै चल्ने तातो हावा, हुरी, धुलोका कारण जनजीवन अत्यन्तै कष्टकर बन्नुको साथैै ग्रामीण बस्तीहरुमा आगलागीको जोखिम समेत बढेको छ ।

गर्मीका कारण बजार क्षेत्रमा सर्वसाधारणहरुको चहलपहल समेत कम देखिन थालिएकोे छ भने अस्पताल परिसरभित्र बिरामीहरुको संख्या ह्वातै बढेको छ । गर्मीका कारण अस्पतालमा बढि बृद्ध र बालबालिकाहरु आउने गरेको प्रादेशिक अस्पतालले जनाएको छ । गर्मीले गर्दा बढि झाडापखाला, ज्वरो, टाइफाइड जस्ता बिरामीहरु अस्पतालमा आउने गरेको डा.रामबिनय राउतले बताए । उनले गर्मी महिनामा खाना फोहोर हुँदा, पसिना आँउदा यस्ता रोगहरु लाग्ने गरेको बताए ।

एक्कासि मौसम परिवर्तन भई तापक्रम बढ्दा चापाकलहरु सुकिसकेका छन । जनकपुरधाम पर्यटकीय स्थल रहेकोले स्थानीय निकायलाइ ठाउँठाउँमा पानी, पण्डाल सहितको व्यवस्था गर्न स्थानिय सुशिल कर्णले आग्रह गरेका छन् ।

लामो समयदेखि पानी नपरेका कारण गर्मी बढ्दै गएको मौसम विभागको भनाइ छ । जेठ महिनाको दोस्रो सातामै गर्मीको पारो ४० डिग्रीभन्दा माथि गइसकेकाले आगामी दिनमा तापक्रम अझै बढ्नसक्ने सम्भावना छ । अहिले बाहिर निस्कँदा छाता प्रयोग गर्नुपर्ने, चिसो पानी प्रशस्त पिउनु पर्ने र चिसो फलफूल मेवा, उखु, तरवुजा, काँक्रा आदिको सेवन अत्यधिक गर्न चिकित्सकहरुले सल्लाह दिएका छन् ।

अत्यधिक गर्मीले गर्दा कक्षाकोठामा विद्यार्थीलाई पठनपाठनमा समस्या भएको छ । समय समयमा विद्युत् सेवा अवरुद्ध हुँदा पनि विद्यार्थीमा झनै समस्या देखिएको छ । गर्मीका कारण नानीबाबुलाई विद्यालय पुर्याउन र ल्याउनै समस्या पर्ने गरेको अभिभावकहरु बताउँछन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार