स्पानिस क्लब सेभियाले जित्यो युरोपा लिग उपाधि


एजेन्सी, १८ जेठ । रोमालाई पेनाल्टी सुटआउटमा हराउँदै स्पानिस क्लब सेभियाले युरोपा लिगको उपाधि जितेको छ ।

बुधबार राति हंगेरीको बुडापेस्टमा भएको फाइनलमा निर्धारित र अतिरिक्त समयमको खेल बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटको क्रममा भएको खेलमा सेभियाले रोमालाई ४–१ ले हराएको हो ।

सुटआउटमा सेभियाका लागि लुकास ओकम्पास, एरिक लामेला, इभान राकिटिच र गोन्जालो मोन्टिएलले गोल गरेका थिए । मोन्टिएलले गत डिसेम्बरमा विश्वकप फाइनलमा फ्रान्सविरुद्ध अर्जेन्टिनाको लागि अन्तिम पेनाल्टीसुटमा गोल गरे ।

रोमाका लागि पहिलो पेनाल्टी प्रहार गरेका ब्राएन क्रिस्टान्टेले मात्र गोल गरे भने जियानलुका मान्सिनी र रोजर एभालेजले गोल गर्न सकेनन् ।

निर्धारित समयमको खेलमा सुरुआती अग्रता भने रोमाले लिएपनि जोगाउन सकेन । ३५औं मिनेटमा पाउलो डिबलाले गोल गर्दै रोमालाई अग्रता दिलाएका थिए । त्यसपछि रोमाकै मान्सिनीले ५५औं मिनेटमा आत्मघाती गोल गरेपछि सेभिया खेलमा फर्केको थियो । निर्धारित समयमको खेल १–१ कै बराबीसमा सकियो भने ३० मिनेटको अतिरिक्त समयमा थप गोल भएन ।

सेभियाले सातौं पटक कीर्तिमानी रच्दैँ युरोपा लिग जितेको हो । सन् २००६ मा पहिलो पटक युरोपा जितेको सेभियाले त्यसयता २००७, २०१४, २०१५, २०१६ र २०२० मा युरोपा लिगको उपाधि हात पारेको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार