बीजेपी सांसदमाथि यौन शोषणको आरोप


एजेन्सी, १५ जेठ । भारतीय कुस्ती महासंघका निवर्तमान अध्यक्ष तथा बीजेपी सांसद बृजभूषण शरण सिंहले यौन शोषण गरेको भन्दै कारबाहीको माग गर्दै कुस्ती खेलाडीहरु धर्नामा बसेका छन् । धर्नामा बसेका कुस्ती खेलाडीमाथि भारतीय प्रहरीले भने हस्तक्षेप गरेको छ । सो हस्तक्षेपको अहिले व्यापक विरोध भइरहेको छ ।

बृजभूषणमाथि छानबिन गरेर कारबाहीको माग गर्दै ओलम्पिक मेडल विजेतासहितका खेलाडी राजधानी दिल्लीको जन्तरमन्तरमा बीजेपी सांसद सिंहलाई कारवाहीको माग गर्दै धर्नामा बस्दै आएका थिए ।

लगातार धर्ना दिँदै आएका खेलाडीले दिल्लीमा महिला महापञ्चायत गर्ने तयारीसमेत गरेका थिए । जसका लागि विभिन्न राज्यबाट महिला खेलाडी दिल्ली पुगे ।

तर उनीहरुलाई पक्रेर प्रहरीले भने दिल्लीकै विभिन्न ठाउँमा थुनामा राखेको विभिन्न भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
भारतीय प्रहरीले धर्नास्थलमा टाँगेका त्रिपालसहित खेलाडीहरु बस्दै आएको ओछ्यानसमेत उठाएर लगेको छ ।

दिल्लीस्थित जन्तरमन्तरमा कुस्ती खेलाडीमाथि प्रहरीले दमन गरिरहँदा त्यहाँबाट डेढ किलोमिटरको दूरीमा प्रधानमन्त्री नरेन्द्र मोदीले नवनिर्मित संसद भवनको उद्घाटन गरिरहेका थिए ।

खेलाडीहरुले आफूहरूको माग सम्वोधन गर्न प्रधानमन्त्री मोदीलाई पटक पटक आग्रह गरेका गरेपनि मोदीले मात्र नभइ बीजेपीका कुनै पनि सांसद तथा नेताले खेलाडीको मागलाई बेवास्ता गर्दै आएका छन् ।

यता खेलाडीले लगाएको आरोपमाथि छानबिन भइरहेको दिल्ली प्रहरीले बताएको छ । तर बृजभूषणले भने सबै आरोपको खण्डन गरेका छन् ।

महिला कुस्ती खेलाडीमाथि भारतीय प्रहरीले दमन गरेको भन्दै दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले देशको मानसम्मान बढाउने खेलाडीमाथि भएको व्यवहार गलत र निन्दनीय रहेको टिप्पणी गरेका छन् ।

त्यस्तै पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले देशका च्याम्पियनमाथि प्रहरीले गरेको व्यवहार लज्जास्पद भएको बताइन् । मुख्यमन्त्री बनर्जीले पक्राउ परेका खेलाडीको रिहाइको मागसमेत गरिन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार