जनकपुरधाम, जेठ ९ । मधेश प्रदेशमा मधेश प्रदेश सरकार विस्तारका लागि छ दलीय गठबन्धन बीच छलफल सकारात्मकरुपमा अघि बढिरहदाँ एक्कासी मुख्यमन्त्री सरोजकुमार यादवले केही दल मन्त्रिमण्डलमा सहभागी गराउने खबर सार्वजनिक भएपछि नेकपा माओवादी केन्द्रको ध्यानाकर्षण जनाउँदै दुःख व्यक्त गरेका छन् ।
सोमबार रातिसम्म चलेको बैठकबाट बैठक सकारात्मकरुपमा अघि बढेको भन्दै आज पुनः बैठक बस्ने भनि गरिएको निर्णयलाई मुख्यमन्त्री यादवले बेवास्ता गर्दै मन्त्रिमण्डल विस्तार गर्नु दुःखद रहेको माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले बताए ।
उनले भने, ‘आज बस्ने बैठकबाट मन्त्रालय विस्तारका लागि टुंगो लगाउने कुरा थियो, तर एकाएक काँग्रेस, एकीकृत समाजवादीलगायतका केही साथीहरुलाई मन्त्री बनाई आजै सपथग्रहण गर्ने भएपछि बैठकपनि अन्योलमा परेको छ ।’
उनले ‘बैठक बसेर लोसपासहितका दललाई पनि मन्त्रालयमा सहभागी गराउँदै अघि बढेको भए सकारात्मक मैसेज पनि जाने थियो, तर यसरी मुख्यमन्त्र ीजीले बैठकलाई समेत गरेको ओभरटेक दुःखद हो’ भने ।
आजै काँग्रेस मधेश प्रदेशका संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी र वीरेन्द्रप्रसाद सिंहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिनका दिनका लागि दिउँसो एक बजे सपथग्रहणको कार्यक्रम आयोजना गरिएको छ ।
यता लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र माओवादी केन्द्रलगायतका दलहरु कुनै हेर र पर्खको नीति अख्तियार गरेको छ ।
लोसपालाई राज्यमन्त्रीका लागि मुख्यमन्त्रीले अफर गरेपनि गठबन्धनको बैठक बसेर मन्त्रालयको विषयमा सहमती जुटाउन आग्रह गरेको लोसपाका नेताले बताए ।


