मधेश प्रदेशमा मुख्यमन्त्री यथावत, मन्त्रालय हेरफेरसँगै मन्त्री थपिने


जनकपुरधाम, ६ जेठ । मधेश प्रदेशमा तत्काल सरकारको नेतृत्व यथावत रहने भएपछि मन्त्रालय हेरफेर तथा मन्त्री थपिने भएको छ ।

सत्तारुढ पाँच दलीय गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा)का सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा निरन्तरता दिने सहमति भएसँगै गठबन्धनका दलहरु सरकारमा सहभागी हुने भएको छ ।

गठबन्धन दलहरुले उपचुनावअघि भएको सहमतिअनुसार मुख्यमन्त्री छाड्न दबाव दिदैँ आएका थिए ।

नेताहरुले जनाए अनुसार १० वैशाखको उपचुनावपछि शीर्ष तहमा भएको छलफलमा जसपाले मुख्यमन्त्री छाड्ने सहमति भएको थियो ।

तर जसपाले मुख्यमन्त्री छाड्न चाहेनन्, बरु यादव नेतृत्वकै सरकारमा आउन अरु दलाई प्रस्ताव गरेको थियो । नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले भने पूर्वसहमति अनुसार मुख्यमन्त्री फेरिनुपर्ने बताउँदै आएका थिए ।

तर शीर्ष नेताहरुको उपस्थितिमा लगातार दुई दिनसम्म काठमाडौँ स्थित बालुवाटारमा भएको छलफलमा तत्काल जसपा नेतृत्वको सरकारलाई निरन्तरता दिने सहमति भएको कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले बताए ।

उनले तत्काल यसै प्रदेश सरकारमा कांग्रेस, लोसपा र नेकपा एकीकृत समाजवादी सहभागी हुने बताए ।

मन्त्रालय भागवण्डाबारे सहमति खोज्ने जिम्मा भने प्रदेशकै नेताहरुलाई दिइएको मधेस प्रदेशका माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले बताए । उनले आइतबार बिहान ११ बजे जनकपुरधाममै गठबन्धन घटक दलका संसदीय दलका नेताहरुको बैठक बसेर मन्त्रालय टुंगो लगाइने बताए ।

गठबन्धन फेरिएसँगै २२ चैतमा एमालेले सरकार छाडेको थियो, तर कांग्रेस, लोसपा र एकीकृत समाजवादी सरकारमा सहभागी छैनन् ।

मुख्यमन्त्रीसहित ११ मन्त्रालय मधेश प्रदेश सरकारमा एमालेले छाडेको चार मन्त्रालय खाली रहेको छ । जसपाले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय लिएको छ भने जनमत पार्टीले दुईवटा र माओवादी केन्द्रले एउटा मन्त्रालय लिएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार