दाङ, ५ जेछ । दाङको देउखुरीमा आज बिहान भएको दुर्घटनमा परी एकको मृत्यू भएको छ भने २३ जना घाइते भएका छन् ।
विपरित दिशाबाट आउँदै गरेको दुईवटा बस ठोक्किदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा रोल्पा रुन्टीगढी–९ कि २४ वर्षीया शोभा परियार रहेकी छन् भने दुर्घटनामा उनका दुई छोरासहित २३ जना घाइते भएको जनाइएको छ । घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रवक्ता राजन कुमार गौतमले जानकारी दिए ।
लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका–३ फल्कापुरमा ठोक्किएर दुर्घटना भएको दाङका प्रहरी प्रवक्ता गौतमले बताए ।
प्रहरी नायब उपरीक्षकसमेत रहेका प्रवक्ता गौतमले दिएको जानकारी अनुसार घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर छ ।
गम्भीर घाइतेहरूमध्ये ७ जनालाई भैरहवा, ३ जनालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र २ जनालाई नेपालगञ्ज रिफर गरिएको उनले बताए । अन्य घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको उनको भनाइ छ ।


