काठमाडौँ, ३ जेठ । काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) यस वर्ष स्थगित गरिएको छ ।
किम्फले आधिकारिक वेबसाइटमार्फत सन् २०२३ को संस्करण यस वर्षका लािग रोकिएको जनाएको छ । सन् २०२४ को संस्करण आयोजना भने हुनेछ ।
संस्था र फेस्टिभललाई नयाँ ढाँचामा लैजानुपर्ने भएको भन्दै किम्फले यस वर्ष कार्यक्रम नगर्ने निर्णय गरेको सार्वजनिक गरेको छ ।
फेस्टिभल रोकिएपनि कार्यशाला, प्रशिक्षण, डकल्याब स्क्रिनिङजस्ता गतिविधि भने निरन्तर हुने जनाइएको छ । सन् २००० देखि आयोजना हुँदै आएको किम्फ कोरोना महामारीले गर्दा यस अघि पनि प्रभावित भएको थियो । किम्फ निजी क्षेत्रले आयोजना गरेको नेपालको मात्र नभएर दक्षिण एसियाकै प्रतिष्ठित फिल्म फेस्टिभलरुपमा लिइने गरिन्छ ।
फेस्टिभल वर्षेनी डिसेम्बरमा आयोजना हुँदै आएको थियो । सन् २०२४ देखि भने वसन्त ऋतुमा आयोजना गर्ने तयारी थालिएको छ ।


