काठमाडौं, २ जेठ । सरकारले मुकेश कायस्थलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो घोषणा गरेको हो ।
१७ वर्षदेखि जिउँदो सहिदका रूपमा चिनिएका कायस्थलाई सहिद घोषणा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । कायस्थको गत बुधबार ३२ वर्षको उमेरमा निधन भएको थियो ।
आन्दोलनका क्रममा ०६२ चैत २७ गते मुकेशको कञ्चटमा गोली लागेको थियो । सरकारले मुकेशको उपचार खर्च, १५ हजार मासिक भत्ता, एक सुसारेका लागि ६ हजार २ सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो ।
मन्त्रिपरिषद् बैठकले सिँचाइ मन्त्रालयको प्रस्तावमा नयाँ बुटवल–लमही ४०० केभी प्रसारण लाइनअन्तर्गत मोतीपुर सवस्टेशनका लागि वाणगंगा नगरपालिकामा १५ बिघा जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउनका लागि अधिकारी तोक्ने निर्णय पनि गरेको छ ।
प्रवक्ता शर्माले सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा राष्ट्रिय योजना आयोग सदस्य डा. जयकान्त राउत नेतृत्वको प्रतिनिधिमण्डललाई यही जेठ १ देखि ५ गतेसम्म थाइल्याण्डमा हुने स्क्यापको ७९औँ बैठकमा भाग लिन जान स्वीकृति दिने निर्णय भएको पनि जानकारी दिइन् ।
जुम्ला विमानस्थलको धावनमार्ग विस्तार तथा टर्मिनल भवन निर्माणको निम्ति करिब १८३ दशमलव ८० रोपनी जग्गा प्राप्त गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृत प्रदान गर्ने सरकारको निर्णय छ ।
जेठ ७ देखि १६ गतेसम्म स्विट्जरल्याण्डको जेनेभामा आयोजित वल्र्ड हेल्थ सम्मेलनमा भाग लिन स्वास्थ्यमन्त्रीलाई स्वीकृति दिने निर्णय गरिएको मन्त्री शर्माले जानकारी दिइन् ।
उनले प्रधानमन्त्रीको भारत भ्रमणलाई नागरिकता विधेयकसँग जोडेर नहेर्नसमेत आग्रह गरेकी छन् ।


