जनकपुरधाम, १ जेठ । नेकपा एमालेले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
सोमबारबाट लागू हुनेगरी सरकारलाई दिएको समर्थन फिर्ता लिइएको एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिएका हुन् ।
मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिएर सरकारमा सहभागी भएको एमालेले संसदीय दलको बैठकको निर्णय अनुसार दुई महिनापश्चात समर्थन फिर्ता लिएको हो ।
चैत २१ गते मधेस सरकारबाट बाहिरिए पनि एमालेले सरकारलाई दिएको समर्थन भने कायमै राखेको थियो ।
मधेस सरकारमा ४ वटा मन्त्रालय सम्हाल्दै आएको एमाले गत चैत २१ गते नै सरकारबाट बाहिरिएपनि सरकारलाई भने समर्थन कायमै राखेको थियो ।
गत पुस १० गते एमाले केन्द्रसँगै मधेस सरकारमा पनि सहभागी भएको थियो । तर, राष्ट्रपति निर्वाचनमा माओवादीले गठबन्धन बदलेसँगै केन्द्र सरकारबाट बाहिरिएको एमालेले चैत २१ गते मधेस सरकारसमेत छाडेको थियो ।
मधेस प्रदेशसभामा नेकपा एमालेका २५ जना प्रदेशसभा सदस्य छन् । यो दल प्रदेशको सबैभन्दा ठूलो दल हो ।



