एजेन्सी, २७ बैशाख । युक्रेनको युद्धग्रस्त क्षेत्रबाट रिपोर्टिङ गरिरहेका एक फ्रेन्च पत्रकारको मृत्यु भएको छ ।
एएफपीमा कार्यरत ३२ वर्षीय अरमान सोल्डिनलाई मंगलबार बाखमुटको पश्चिममा रहेको चासिभ यारमा प्रहार गरिएको रकेटले लागेको थियो ।
युक्रेनको सेनाहरूसँग रहेका पत्रकारको टोलीमाथि स्थानीय समयअनुसार साढे चार बजे आक्रमण भएको थियो ।एएफपीका अध्यक्ष फ्याबरिस फ्राइसले आफ्नो समाचार एजेन्सी सोल्डिनको निधनबाट स्तब्ध भएको बताएका छन् ।
यस्तै, फ्रेन्च राष्ट्रपति इमानुएल म्याक्रोँले युद्धग्रस्त क्षेत्रको फ्रन्टलाइनमा काम गरेको सम्झँदै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।कमिटी अफ प्रोटेक्ट जर्नालिस्टका अनुसार सोल्डिन सन् २०२२ को फेब्रुअरीबाट सुरु भएको युक्रेन युद्धको रिपोर्टिङका क्रममा मारिने १५ औँ पत्रकार हुन् ।


