काठमाडौं, २७ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि प्रहरीले पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई पक्राउ गरेको छ ।
काठमाडौं प्रहरी परिसरको टोलीले खाँणलाई बुधबार बिहान मैजुवहालस्थित उनकै निवासबाट पक्राउ गरेको हो । यस प्रकरणमा तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन् ।
प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री खाँणको समेत नाम लिएका थिए । आरोपितको बयानका आधारमा अनुसन्धानमा खाँण पनि यस प्रकरणमा तानिएका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी भने फरार छन् ।
प्रहरीले गृह मन्त्रालयका पूर्वसचिव पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायतलाई भने पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
खाँणलाई पक्राउ गर्न बुधबार बिहान प्रहरी टोली उनको घरमा पुग्दा उनले ‘दुई मिनेट है, फोन गर्छु’ भनेर ढोका थुनेका थिए । तर, निकै बेर खोलेनन् । निकै बेर ढोका नखुलेपछि प्रहरीले ढोका नै तोडेर उनलाई नियन्त्रणमा लियो ।
घटनास्थलमा पुगेका एकजना प्रहरी अधिकृत भन्छन्– ‘ढोका फुटाएर पक्राउ गर्यौं, केहीबेर तानातान पनि भएको थियो ।’
पक्राउ परेका खाँणलाई अहिले प्रहरी परिसर टेकुमा राखिएको छ ।


