एजेन्सी, २२ बैशाख । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ५ रनले हराउँदै जितेका छन् ।
जितका लागि १७२ रनको लक्ष्य पछ्याएको हैदरावादले ८ विकेटको क्षति १६६ रनमात्र बनाएपछि कोलकाता विजयी भएको हो ।
हैदरावादका कप्तान एडन मारक्रमले ४१ रन बनाए । एकपछि अर्को विकेट गुमिरहेको बेला हेनरिक क्लासन र माक्रमले ७० रनको साझेदारी गरे । क्लासनले ३६ रन बनाए । यस्तै हैदरावादका अब्दुल समदले २१ रन जोडे । मयंक अग्रवालले १८ र राहुल त्रिपाठी २० रनमा आउट भएका थिए ।
बलिङतर्फ कोलकाताका वैभव अरोरा र शार्दुल ठाकुरले समान २–२ विकेट लिएका थिए ।
हैदरावादमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १७१ रन बनाएको थियो ।
कोलाकाताको लागि कप्तान नितिश राणाले ४२ र रिंकु सिंहले ४६ रन बनाए भने आन्द्रे रसेलले २४ रन बनाएका थिए ।
यस जितसँगै कोलकाता आईपीएलको अंक तालिकामा आठौं स्थानमा पुगेको छ ।


