काठमाडौं, २० बैशाख । इराकमा पहिलोपटक नेपाली फिल्मको प्रदर्शन हुन लागेको छ । मध्यपूर्वमा नेपाली फिल्म वितरण गर्दै आएका रमेश ढकालले आगामी मे १२ मा इराकको कुर्दिस्तान सुलेमानी सहरमा ‘छक्कापञ्जा ४’ लाई प्रदर्शन गर्न लागेको हो ।
सो सहरको सिटी सिनेमा हललाई बुक गरेर फिल्म देखाउन लागिएको हो । दिनको दुई शोमा फिल्म देखाएर प्रदर्शनको थालनी गर्न लागिएको जानकारी उनले दिए । ‘दुई वर्षदेखिको प्रयास बल्लबल्ल सफल भएको छ । प्रदर्शनको मिति तय हुने बित्तिकै सेन्सरका लागि फिल्म पठाउँदै छु,’ उनले भने ।
ढकालले इराकस्थित नेपाली विनोद श्रेष्ठसँगको सहकार्यमा फिल्म देखाउन लागेका हुन् । इराकमा अरबिक सबटाइटलमा फिल्म रिलिज हुनेछ ।
उनले ‘छक्कापञ्जा ४’ पछि ‘जारी’लाई पनि प्रदर्शन गर्ने तयारी गरिएको जानकारी दिए । ढकालकै पहलमा मध्यपूर्वमा नेपाली फिल्म नियमित हलमा रिलिज हुँदै आएको छ । छक्कापञ्जा ४ मध्यपूर्वका कतार, यूएई, बहराइन र ओमानमा रिलिज भएको थियो । उनले साउदीमा पनि फिल्म रिलिजको योजना रहेको बताए ।


