सर्लाही, १६ बैशाख । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजीका लागि सरकार कठोर रहेको बताएका छन् ।
शनिबार सर्लाहीको वागमती नगरपालिकाले आयोजना गरेको नमुना प्रहरी बस्ती हस्तान्तरण कार्यक्रममा बोल्दै उनले मिटरब्याजीको पक्षमा नलाग्न कार्यकर्तालाई आग्रह गरेका हुन् । उनले मिटरब्याजीको पक्षपोषण नलाग्न कार्यकर्तालाई आग्रह गरे ।
सर्लाहीमा मिटरब्याजीको जालो फैलिएको उल्लेख गर्दै नेता श्रेष्ठले राजनीतिक पहुँचको आधारमा कुनै पनि मिटरब्याजीले उन्मुक्ति नपाउने बताएका छन् ।
मन्त्री श्रेष्ठले पार्टीको सक्रिय कार्यकर्ता भए पनि मिटरब्याजीको पक्षमा रहेको जानकारी पाए कारबाही गरिने चेतावनी दिए ।
मधेस प्रदेशमा मिटरब्याजको जालो रहेको भन्दै जनकपुरधाममा मिटरब्याज जाँचबुझ आयोगको कार्यालय स्थापना गरेर मिटरब्याजको सम्बन्धमा थप अनुसन्धान र कारबाही अघि बढाइने उनले जानकारी दिए ।
जनकपुरधाममा आइतबार मिटरब्याज जाँचबुझ आयोगको कार्यालय स्थापना हुन लागेको छ ।


