काठमाडौं, १५ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा सहभागी नहुने बताएका छन् ।
शुक्रबार शपथग्रहणपश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले आफूहरु सरकारमा जाने कुरामा अहिले केही नसोचेको बताएका हुन् । उनले सरकारमा जानेभन्दा पनि समर्थन फिर्ता लिने सम्भावना बढी रहेको बताए ।
लामिछानेले भने, ‘सरकारमा जाने विषयमा सोच्ने कुरा छैन । समर्थनमा के गर्ने भन्ने विषयमा भने छलफल गर्नुपर्ने हुन्छ । संसदीय दल र केन्द्रीय समितिको बैठक बसेर गम्भीर समीक्षा गर्नेछौँ ।’
उनले सरकारले न्यूनतम् साझा कार्यक्रममा भ्रष्टाचारसम्बन्धी विषय हटाएकाले आफ्नो पार्टीको गम्भीर आपत्ति रहेको बताए ।
‘मतदाताले केही थान मान्छेलाई संसदमा पठाएको होइन । एजेन्डासहित पठाएको हो । अझ निर्मम हुनुपर्ने विषयलाई भएको कुरालाई पनि हटाएकोमा हाम्रो गम्भीर आपत्ति छ । त्यसैले यसमा गम्भीर समीक्षा गरेर मात्र अगाडि बढ्छौँ,’ लामिछानेले भने ।


