ससुरालीमा दनक पाएका श्रीमानले श्रीमती र ससुरामाथि दिए मुद्दा


जलेश्वर, १४ वैशाख । महोत्तरीमा ससुरालीमै ज्वाइँलाई मर्नासन हुने गरि कुटपीट गरेको छ । महोत्तरीको सोनमा गाउँपालिका वडा नम्बर ४ बस्ने २८ वर्षीय सन्तोष झालाई मर्नासन हुने गरि कुटपीट गरेको हो ।

चैत २२ गते तर्फ सोनामा गाउँपालिका वडा नं. १ स्थित ससुराली घरमा सन्तोषलाई बोलाइएको थियो । दिउँसो पुगेपछि ससुरा हिरण ठाकुर, सासू नगिना ठाकुर, सालो धर्मेन्द्र ठाकुर, ससुरा नाता पर्ने घनश्याम ठाकुरलगायतले टाउकोमा ठोस बस्तु प्रहार गर्नुका साथै घाँटी च्यापेर हत्या प्रयास गरेको सन्तोषका परिवारजनले आरोप लगाएको छ ।

हत्या हुने गरि कुटिएका सन्तोषलाई लुकाउने प्रयास गरेपछि स्थानीयले उनको घरमा फोन गरेर जानकारी गराएका थिए । टाउकोको खप्पर फुटेर रक्ताम्य तथा घाँटी कसेर अचेत भएको अवस्थामा उद्धार गरेर अस्पताल भर्ना गराएको सन्तोषकी दिदी रुवी झाले बताइन् ।

सन्तोषलाई प्रादेशिक अस्पताल र त्यहाँ सम्भव नभएपछि जनकपुर स्थित न्यूरो हस्पिटलमा उपचार गरिएको थियो । १५ दिन उपचार पश्चात सन्तोष डिस्चार्ज भएका छन् । तर, उनको दुवै हातखुट्टा भने चल्दैनन् ।

घटनापछि फरार रहेका ससुरा हिरण र सासु नगिनालाई दुई दिनपछि प्रहरीले पक्राउ गरेको थियो । सासू ससुरामाथि ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जनाएका छन् ।

घटनामा संलग्न सालो धर्मेन्द्र र ससुरा पर्ने घनश्याम भने अझै पनि फरार छन् । दुवै जनाको खोजीकार्य गरिरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । सन्तोषका परिवारजनले चार जनामाथि ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दर्ता गराएका छन् ।

सन्तोषले घटनामा धर्मपत्नी सरिता ठाकुरको समेत संलग्नता रहेको बताउँदै कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार